विदेशी भित्रँदा स्थानीयमा त्रास

राष्ट्रिय समाचार समिति

ललितपुर, २० चैत :महालक्ष्मी नगरपालिका वडा नं ४ को अजिजिया मस्जिदमा हिजो साँझ १३ इण्डोनेशीयाका नागरिक भित्रिएकोबारे स्थानीयवासीले नगरपालिकालाई जानकारी दिएका छन् । इमाडोलका स्थानीयवासीले आज बिहान नगरपालिकाका प्रमुख र उपप्रमुख समक्ष उक्त कुराको जानकारी गराएपछि आफूहरुलाई थाहा भएको उपप्रमुख निर्मला थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उहाँहरुलाई यही क्वारेन्टाइनमा राख्ने वा कुनै होटलमा राख्ने तथा सो मुलुकको राजदूतावाससँग सम्पर्क गरी पठाउने भन्ने विषयमा छलफल भइरहेको छ ।” आज दिउँसो ४ बजेसम्म उनीहरु इमाडोलमै रहेको भएपनि साँझपख गोदावरी नगरपालिकाको गोदावरी भिलेज रिसोर्टमा राखिएकोमा स्थानीयले त्यसको विरोध गरेका छन् ।

मुस्लिम आयोग नेपालका अध्यक्ष समिम मियाँ अन्सारीले नगरपालिका प्रमुखलाई नै उनीहरुको व्यवस्थापन गरिदिन आग्रह गरेको बताउनुभयो । उनीहरु गत जनावरी २१ मा इण्डोनेसियाबाट मुस्लिम धर्म प्रचारको समूहमार्फत काठमाडौँ आइबसेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सप्तरी र कञ्चनपुरको धार्मिक कार्यक्रममा सहभागी भई चैत १९ गते काठमाडौँ माछापोखरी मस्जिद बस्न आउँदा स्थानीयले विरोध गरेको ललितपुरका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । विरोधपछि त्यहाँका प्रहरीले बुझ्दा र सल्लाह गर्दा जामे मस्जिदका पदाधिकारीको सल्लाहमा बुधबार प्रहरीले इमाडोल ल्याइदिएको उहाँले बताउनुभयो । उनीहरुको ज्वरो नाप्दा हाललाई सामान्य नै रहेको राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया