खाडीका नेपाली फर्काउन अन्योल

admin

काठमाडौं, २१ चैत : रोजगारीका लागि खाडीमा रहेका नेपाली स्वदेश फर्कन चाहेपछि सरकार ल्याउने नल्याउने द्धिविधामा छ। कुवेतले अहिले गैर भिसामा बसेका विदेशीलाई सुविधा दिएर घर फर्काउने निर्णय गरेको छ। खाडी मुलुकसहित पश्चिमा एसिया क्षेत्रमा करिब २० लाख नेपाली कार्यरत छन्।

कुवेत सरकारले अप्रिल महिनाभर विदेशी नागरिकलाई आफूले काम गरेको स्थान र रहनुपरेको कारणसहित जानकारी दिए फर्काउने प्रक्रिया अघि बढाउने जनाएको हो। फिर्ती प्रक्रिायका लागि उसले कामदार पठाउने मुलुकलाई पनि जानकारी दिइसकेको छ।

कुवेतमा ७० हजार बढी नेपाली कार्यरत छन्। सात हजार भन्दा बढी बिना भिसामा काम गरिरहेको सूचना दूतावासलाई छ। बिना भिसाका नेपालीसहित सबै मुलुकलाई कुवेत सरकारले सुविधा दिएपछि नेपालीले आफूहरुलाई फकाउने वातावरण मिलाउन दूतावासलाई आग्रह गरिरहेका छन्।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले नेपालीसहित सबै विदेशी कामदारलाई दिएको यो अवसर राम्रो भए पनि मुलुकको वर्तमान अवस्थामा कसरी फर्काउन सकिएला भन्ने विषय अध्ययन भइरहेको बताए। ‘यसबारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छु। अन्य मुलुकले लैजाने भनिरहेका छन्’, भण्डारीले टेलिफोनमा भने, ‘हामी नेपालीसँग सम्पर्कमा छौं। छलफल गरिरहेका छौं।’

फिलिपिन्स, भारतसहितका मुलुकले विमान चार्टर गरी लैजाने तयारी गरेका छन्। नेपालको अवस्था फिर्ता ल्याउने पक्षमा नरहेको जानकारी दूतावासले दिनुपर्ने परराष्ट्रको धारणा छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया