भक्तपुरमा राहत वितरण शुरु

राष्ट्रिय समाचार समिति

भक्तपुर, २१ चैत:कोरोना भाइरसको सङ्क्रमण रोक्न लकडाउन भएपछि भक्तपुर जिल्लाका स्थानीय तह तथा विभिन्न सङ्घसंस्थाले राहत वितरण शुरु गरेका छन् । स्थानीय तह आफैँले र स्थानीय तहसँग समन्वय गरेर विभिन्न संस्थाले राहत वितरण शुरु गरेका हुन् । जिल्लाका चारवटै नगरपालिकाले आवश्यकता र अवस्था हेरेर राहत वितरण शुरु गरेका छन् ।


आज एकैदिन सूर्यविनायक नगरपालिकाले ५०० परिवारलाई राहत वितरण गरेको छ । नगरपालिकाले यहाँका १० वटै वडामा ‘गरिब, विपन्न वर्ग राहत’ कार्ड वितरण गरी वडा नं १ बाट कार्ड पाएका व्यक्तिलाई राहत वितरण शुरु गरेको हो । सूर्यविनायक नगरपालिकाले निर्धारण गरेको मापदण्डअनुसार गरिब, न्यूनआय भएका, दैनिक ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्ने परिवारलाई आजबाट राहत वितरण शुरु गरेको सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो । प्रत्येक वडा कार्यालयले आफ्ना वडामा भएका गरिब तथा विपन्न वर्गका मजदूरको लगत सङ्कलन गरी अत्यावश्यक व्यक्तिको पहिचान गरी राहत वितरण शुरु गरेको हो ।

सूर्यविनायक नगरपालिकाको समन्वयमा आर्टअफ लिभिङ नेपाल च्याप्टरले यहाँका ५०० परिवारलाई राहत वितरण गरेको छ । पूर्वसांसद विमल केडियाको संयोजकत्वमा उक्त संस्थाले प्रतिपरिवार रु एक हजार १०० बराबरको पाँच किलो चामल, दुई किलो चिउरा, एक प्याकेट नुन, एक किलो दाल, एक लिटर तेल, १० प्याकेट चाउचाउ र दुईवटा साबुन रहेको खाद्य सामग्रीसहितको प्याकेट प्रदान गरेको हो । चार जनासम्मको परिवारलाई १५ दिनसम्म खानपुग्ने खाद्य सामग्री वितरण गरिएको जानकारी दिँदै प्रशासकीय अधिकृत ज्ञवालीले चार जनाभन्दा माथिका परिवारलाई वडा कार्यालयले उक्त राहत प्याकेजमा प्रतिपरिवार पाँच किलो चामल थप गरेर वितरण गरेको बताउनुभयो ।

पूर्वसांसद केडियाले सूर्यविनायकमा ५०० परिवारसँगै कोटेश्वर र गोदावरीको ग्रामीण क्षेत्रका ५०० मजदूर गरी १००० परिवारलाई राहत वितरण गरिएको जानकारी दिनुभयो । पहिलो चरणमा उपत्यकाका विभिन्न ठाउँमा मजदूरका लागि चारदेखि पाँच हजार परिवारलाई राहत बाँड्ने लक्ष्यअनुसार दैनिक राहत सामग्रीको प्याकेजिङ र वितरण भइरहेको छ । अत्याश्यक अवस्थामा स्वास्थ्यकर्मीका लागि पिपिइ पनि वितरण गर्ने योजना रहेको सांसद केडियाले जानकारी दिनुभयो ।

यता मध्यपुरथिमि नगरपालिकाले २० गतेबाट अहिलेसम्म १५ हजार परिवारलाई राहत वितरण गरिसकेको मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अब तीन वटा वडामा मात्रै बाँकी रहेकाले दुई दिनभित्र सबै वडामा राहत वितरण सकिने जानकारी दिनुभयो । नगरपालिकाले चार जनासम्मको परिवारलाई १० किलो चामल, एक किलो दाल, एक प्याकेट नून, आधा किलो दालमोठ, एक किलो चिउँरा र एक लिटर तेल तथा पाँचदेखि सात जनासम्मका परिवारलाई १५ किलो चामल, एक किलो आधा दाल, दुई प्याकेट नून, एक किलो दालमोठ, एक किलो आधा चिउरा र दुई लिटर तेल राहत वितरण गरेको छ ।

त्यस्तै भक्तपुर नगरपालिकाले केही अत्यावश्यक व्यक्तिलाई वडामार्फत राहत वितरण गरे पनि वडागत रुपमा विपन्न तथा मजदूरको लगत सङ्कलन भइरहेको जानकारी दिनुभयो । भूकम्पमा जस्तै राहत वितरणमा भद्रगोल हुनसक्ने भएकाले राहत वितरणमा हतार नगरिएको र खाद्यान्न समस्या परेकाको पहिचान भएपछि मात्रै वितरण गरिने बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाले गरिब, विपन्न मजदूरको लगत सङ्कलन गरिरहेको जानकारी दिँदै राहत वितरण केही दिनपछि मात्रै शुरु गरिने नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया