‘लकडाउन’ले मजदूर समस्यामा

राष्ट्रिय समाचार समिति

सङ्खुवासभा, २० चैत : पोखरी चैनपुर सडक खण्डलगायत जिल्लाका विभिन्न विकास निर्माणको आयोजनामा काम गर्ने मजदूर देश ‘लकडाउन’ भएसँगै रोजीरोटीको समस्यामा परेका छन् । चैनपुर पोखरी सडकखण्डमा कालोपत्र गर्ने मजदूर लकडाउनपछिको समयमा घरपरिवार सम्झँदै असहज जीवन बिताइरहेका छन् ।

पर्सा, कैलाली, रौतहटलगायतका जिल्लाबाट सडक निर्माण गर्न चैनपुर आइपुगेका सुपरभाइजर, फिल्ड इञ्चार्ज, लोडर, ग्रेडर अपरेटर, ड्राइभरलगायत श्रमिक लकडाउनपछि न त घर नै जान पाएका छन् न त बसाइमा उनीहरुको सहजता छ । सो आयोजना कालोपत्र गर्ने क्रममा ३० जनाभन्दा बढी मजदूरहर लकडाउनमा परेपछि ग्यास, तरकारी र अन्य खाद्यवस्तुको अभाव शुरु भएको मजदूरले गुनासो पोख्छन् ।

पोखरी चैनपुर सडक कालोपत्र गर्ने कार्य तीव्रगतिमा सञ्चालन भइरहेको यो सडक खण्डमा डिविएसटी (डबलकोट वीट्वीन सर्फेस ट्रयाक) गर्न शुरु भइसकेका थियो । चैनपुरको जिरो प्वाइन्टबाट पोखरीको दाहालडाँडासम्म आठ किलोमिटर लम्बाइ रहेको यो सडक स्थानीय चैनपुर नगरपालिका सरकारको रु पाँच करोड ५९ लाख बजेटबाट कालोपत्र गर्न शुरु गरेको थियो ।

प्रतिक्रिया