औषधि अभावमा नार्पाभूमि

राष्ट्रिय समाचार समिति

मनाङ, २४ चैत :नार्पाभूमि गाउँपालिकामा औषधि अभाव भएको छ । त्यसै त गाउँपालिकामा औषधिको आपूर्तिमा सधैँ कमी हुन्छ । लकडाउनका अवस्थामा सिटामोल नपाउँदा समस्या भएको गाउँपालिकावासी बताउँछन् ।

लकडाउनले गाउँपालिकामा सिटामोलसमेत पु¥याउन नसकिएको गाउँपालिका अध्यक्ष मिङ्माछिरिङ लामाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाबाट स्थानीयवासीलाई दुई दिन लगाएर औषधि लिन आउनुपर्ने अवस्था सिर्जना भएको छ ।

सवारीसाधन समेत नचल्ने ठाउँ भएकाले पनि औषधि पु¥याउन समस्या भएको नार्पाभूमि –२ का वडाध्यक्ष मिङ्मार लामाले बताउनुभयो । स्थानीय, प्रदेश र संघीय सरकारले त्यसतर्फ चासो नदिएको स्थानीयवासी आरोप लगाउँछन् । सिटामोल लिनकै लागि दुई दिन लगाएर चामे पुग्नुपर्ने बाध्यता रहेको स्थानीयवासी कर्माडेन्डु लामा बताउनुहुन्छ ।

‘सामान्य रोगको औषधिसमेत नभएको ठाउँमा अन्य रोगको उपचार कसरी हुन्छ ? कोभिड १९ को संक्रमण फैलिन सक्ने भए पनि केही औषधि ल्याउन सकिएको छैन, धेरै समस्या रहेको छ’, लामाले भन्नुभयो । स्थानीय सरकारले ल्याउने प्रयत्न गरे पनि लकडाउनले गर्दा औषधि आइनपुगेको गाउँपालिकाको भनाइ छ ।

प्रतिक्रिया