सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना सङ्क्रमण

admin

काठमाडौं, २ बैशाख : काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

सोमबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुको रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) बाट परीक्षण गर्दा कोभिड-१९ को सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए ।

उनीहरुको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । उनका अनुसार तीन जनामध्ये अपार्टमेन्टमा बसेका ८१ वर्षीय महिला र अर्का ५८ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । उनीहरु बेलायतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए ।

अर्को एक जनाको भने पीसीआरबाट परीक्षण गर्दा सङ्क्रमण नदेखिए पनि पुनः परीक्षण गरिने उनले जानकारी दिए । अहिले तीनै जनालाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा उपचार भइरहेको छ ।

सह प्रवक्ता डा. अधिकारीका अनुसार उक्त अपार्टमेन्टमा बस्ने सबैको परीक्षण आजैबाट शुरु गर्ने र सङ्क्रमितहरुका नजिकका आफन्तका कन्ट्र्याक ट्रेसिङ पनि आजैबाट शुरु गरिनेछ । योसँगै १६ जनामा कोभिड-१९ को सङ्क्रमण देखिएको छ ।

हिजो सोमबार दुई जनामा सङ्क्रमण देखिएको थियो । उनीहरुमा सङ्क्रमणको आशङ्का गरिएपछि प्रहरीले अपार्टमेन्टमा बस्ने मानिस र समुदायमा बस्ने अरूलाई हुने सम्भावित जोखिमबाट बचाउन प्रहरीले ‘सिल’ गरेको थियो ।

प्रतिक्रिया