उपत्यका नछाड्न आग्रह

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ५ वैशाख: लकडाउनका कारण समस्या भएर कयौँ मजदूर हिँडेरै गाउँ फर्किन थालेपछि उपत्यका नगरपालिका फोरम काठमाडौँले उपत्यका नछाड्न आग्रह गरेको छ ।

उपत्यकाका १८ नगरपालिकाका प्रमुख, उपप्रमुख संलग्न नगरपालिका फोरमलेले आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँगको छलफलका क्रममा यस्तो आग्रह गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, “लकडाउनका बेला एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जानसमेत प्रतिबन्ध गरेको अवस्थामा तपाईं जो जहाँ रहनुभएको छ, त्यही सुरक्षित बस्नुहोला, आवश्यक सहयोग गर्न तयार छौँ ।”

केही समस्या भए उपत्यकाका सम्बन्धित वडा कार्यलयमा सम्पर्क गर्न सो फोरमले व्यवस्था मिलाइएको जनाएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले पनि विज्ञप्ति जारी गर्दै सबैलाई लकडाउनको पालना गर्न आग्रह गर्नुभएको छ ।

“यस्तो प्रतिकूल अवस्थामा पनि काठमाडौँ उपत्यका छाडी सयौँ किलोमिटर पैदलयात्रा गरी आफ्नो घर जाने र बाटोमा दुःख कष्ट भोगिरहेका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया