काठमाडौं, १० बैशाख : पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ ।
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि-मनसुन सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको मौसमविद् समिर श्रेष्ठले बताए ।
उनका अनुसार प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ । “अहिले प्रिमनसुनको साथै पश्चिमी वायुकोको प्रभाव रहेकाले बिहानैदेखि बदलीसहित वर्षा भएको हो”, मौसमविद् श्रेष्ठले भने ।
यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ । उक्त मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ । हाल देशको मध्य र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहेको छ ।
दिउँसो देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको पहाडी भू-भागका धेरै जसो स्थानमा र मध्य र पूर्वी तराईका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातको समयमा देशभर आङ्शिकदेखि सामामन्य बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा र पूर्वी तराईका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
बिहीबार देशको पहाडी भू-भागका साथै मध्य र पश्चिमी तराईका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।
बैशाख १२ गते शुक्रबार देशको मध्य र पूर्वी भू-भागको केही स्थानमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २४ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।
बुधबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस छ ।