आज आमाको सम्मानमा मातातीर्थ औँसी मनाइँदै

admin

काठमाडौं, आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन। बैशाख कृष्ण पक्ष औँसीका दिन जन्म दिने आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ ।

जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइन्छ। आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको बैशाख कृष्ण औँसीका दिन मनाइन्छ । बिहानै उठी नुहाईधुवाई गरी आफ्नी आमालाई उपहार दिई तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । जीवित आमालाई खान-लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।

आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ । आजका दिन आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्ने गर्छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँने गर्दछन् । मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्ने गर्दछन् ।

दिवङ्गत आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लाग्ने गर्दछ । आज आमाको नाममा सङ्कल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई दिवङ्गत माता खुसी हुने शास्त्रमा वर्णन गरिएको छ । आजको दिन मातातीर्थमा रोटी खसेको र उक्त रोटी खसेको ठाउँमा दिवङ्गत आमाका मुख देखेको जनविश्वास छ ।

द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन बैशाख कृष्ण औँसीको दिन परेको थियो । स्वस्थानी व्रतकथाअनुसार यस तिर्थमा सतीदेवीको अङ्ग पतन भइ मातुलेश्वर महादेवको उत्पत्ति भएको थियो ।

त्यहाँ शास्त्रीय विधिबाट गरिने कर्मकाण्डबाट मृतआमाले मोक्ष पाउने तथा सन्तानले जीवनभर सुख पाउने विश्वास गरिन्छ । घरबाट टाढा रहेकाहरु आमाको मुख हेर्नका लागि घर पुग्ने गर्दछन् । घर जान नपाएकाहरुले भने टेलिफोन गरेर आमालाई सम्झने गदर्छन् ।

पछिल्लो समयमा बढ्दो सूचना प्रविधिको विकासले फेसबुक तथा ट्वीटर जस्ता सामाजिक सञ्जालमा मातातीर्थ औँसी र यसको महत्व सम्बन्धमा विभिन्न किसिमले उल्लेख गरिएको पनि पाइन्छ । घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र दिवङ्गत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाइ छ ।

यद्यपि यो वर्ष भने कोरोना भाइरसको माहामारीले लकडाउनका कारण विवाह भइसकेका चेलीबेटी भने आज फोनबाटै आमासँग कुरा गर्न बाध्य छन् । यस्तै आमाको मुख हेर्ने औँसी समेत भनिने आजको दिन दिवङ्गत आमाको सम्झनामा काठमाडौंको मातातीर्थमा मेला लाग्ने गरेकोमा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न भएको लकडाउनको कारण स्थगित गरिएको छ ।

प्रतिक्रिया