जीवित छन् किम जोङ

admin

सोल : उत्तर कोरियाली नेता किम जोङ उन स्वस्थ र जीवितै रहेको दक्षिण कोरियाका उच्च सुरक्षा सल्लाहकारले जानकारी दिएका छन्। पछिल्ला केही दिनयता उत्तर कोरियाली नेता किम गम्भीर विरामी रहेको अथवा कतिपयले नि*धन भएको समाचार सार्वजनिक गरेको अवस्थामा ती सैन्य अधिकारीले स्पष्ट गरेका हुन्।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनका प्रमुख सुरक्षा सल्लाहकार मुन चुन इनले सोमवार उक्त जानकारी दिएका हुन्। उनले भने, ‘हाम्रो सरकारको सूचना बलियो छ। उहाँ स्वस्थ र जीवितै हुनुहुन्छ।’ उनले अमेरिकी टेलिभिजन सिएनएनसँगको अन्तर्वार्ताका क्रममा उक्त जानकारी गराएका हुन्। उत्तर कोरियाली नेता किम त्यहाँको पूर्वी भूभागमा रहेको वानसन रिसोर्टमा अप्रिल १३ देखि बसेको जानकारी दक्षिण कोरियाली सरकारले पाएको उनले खुलासा गरे।

अप्रिल १५ मा उत्तर कोरियाको महत्वपूर्ण कार्यक्रममा किमको उपस्थिति नदेखेपछि विभिन्न सञ्चारमाध्यम र व्यक्तिले विभिन्न अड्कल गरेका थिए। केहीले उनी गम्भीर विरामी रहेको त केहीले निधन नै भइसकेको समाचार बाहिर ल्याएका थिए।

त्यसदिन नेता किमका हजुरबुबा किम इल सुङको जन्मदिनको अवसरमा उत्तर कोरियामा विशेष कार्यक्रम आयोजना गरिएको थियो। किम इल सुङ उत्तर कोरियाका संस्थापक हुन्। गत सोमवार दक्षिण कोरियाकै एक दैनिक पत्रिकाले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था र कहाँ छन् भन्नेबारे केही जानकारी दिएको छैन। किम केही समयदेखि सार्वजनिक रूपमा कार्यक्रमहरूमा देखिएका छैनन्। सीएनएनले पनि गुप्तचर निकायको स्रोतलाई उद्धृत गर्दै शल्यक्रियापछि किमको स्वास्थ्य अवस्था अति गम्भीर रहेको बताएको थियो। दक्षिण कोरियाका दुई अधिकारीले भने सोही समयमा खण्डन गरेका थिए।

प्रतिक्रिया