महाकाली तर्न रु पच्चीस सय भाडा

राष्ट्रिय समाचार समिति

दार्चुला, १७ वैशाख :भारतको पिथौरागढको मदकोट क्षेत्रमा काम गर्न गएका १६ जना नेपालीले महाकालीवारि नेपाल फर्किन रु ४० हजार खर्च गरेका छन् । महाकालीमा पौडिन नसकेपछि दार्चुला र बैतडीका मजदूरले प्रतिव्यक्ति रु दुई हजार ५०० नेपाली तिरेका छन् ।

तीन दिनदेखि मदकोटबाट भोकभोकै बालुवाकोट पुगेका उनीहरुले ट्युबमार्फत नेपाल पु¥याएको प्रतिव्यक्ति रु दुई हजार ५०० तिरेका हुन् । तीन दिन भारतको जङ्गलको बाटो भएर उनीहरु बालुवाकोट पुगेका थिए । “मदकोटमा सडक निर्माणमा काम गर्दै आएका थियौँ”, बैतडी डिलाशैनी गाउँपालिका–३ का काशी बोहराले भन्नुभयो, “लकडाउनदेखि काम हुन सकेन् । रासन पाएसम्म त्रिपालमै बसेका थियाँै । अहिले रासन पनि नपाइने भएपछि भोकभोकै जङ्गलको बाटो भएर बालुवाकोट पुगेका हौँ ।”

“गाउँ बस्तीमा पुगिने ठाउँमा दिउँसो रोकियौँ । बढी समय राति हिँडेर आयौँ । भारतका नागरिकले समेत नदेखुन् भनेर रातिराति हिँडेर आएका थियाँै”, बोहराले भन्नुभयो । भोकभोकै बस्न नसकिने भएपछि बाध्य भएर फर्किनु परेको हो ।

“बालुवाकोट पुगेपछि ट्युब चालकलाई फोन गरेका थियौँ लोकेन्द्र भण्डारीले भन्नुभयो, “पहिले हाम्रा गाउँका ट्युबमा तार्दा एक हजारदेखि १६०० भारु लिएको थियो तर अहिले सुरक्षाकर्मीले कडाइ गरेको भन्दै रु दुई हजार ५०० दिएमात्रै ट्युबमा नेपाल पु¥याएको बताएपछि त्यति नै रकम तिरेर आउनुप¥यो ।’’

भोकभोकै बस्नुभन्दा कमाएको पैसा ट्युब चालकलाई दिएर भए पनि नेपाल आउनुपरेको रमेश बोहराले बताउनुभयो । गत मङ्सिरमा मदकोटमा सडकको काम गरेबाफत ठेकेदारले पूरै रकम दिएका छैन् । लकडाउनपछि प्रतिव्यक्ति रु १० हजारका दरले रकम दिएको हो । “त्यो पैसा रासन खरिदमै सकिन लागेपछि बिस्कुट खाएर यहाँसम्म आएका हौँ’’, उहाँले भन्नुभयो ।

उनीहरु चार वर्षदेखि मदकोट क्षेत्रमा सडकमा काम गर्दै आएका छन् । ठेकेदार चिनजानकै व्यक्ति भएकाले मान्छे लिन बाँकी रु ३० हजार पछि लकडाउन खुलेपछि रकम दिन्छु भनेकाले त्यसमा भने उनीहरु चिन्तित देखिँदैनन् । रमेशले भन्नुभयो, “पुल खुल्ने थाहा थिएन, त्यही भएर नदीमा ट्युब तरेर आएका छाँै ।’’

भारतको मदकोटबाट आउनेमा डिलाशैनी गाउँपालिका–३ का काशी बोहरा र खेमराज बोहरा दाजुभाइ हुन् । दुवै भाइ मङ्सिरमा काम गर्न त्यसतर्फ गएका थिए । उनीहरुको घरमा आठ जनाको परिवार छ । “हामी दुवै जना वर्षमा दुई पटक भारतमा मजदूरी गर्न जान्छौँ”, खेमराजले भन्नुभयो, “अहिले त काम गरेको पैसा पनि दिएको छैन, गाउँमा गएर खेतीपाती गर्न भनेर आएका हौँ ।”

महाकाली नगरपालिका–९ दत्तु चुच्चै क्षेत्रबाट नेपाल आउनेमा बैतडी डिलाशैनी गाउँपालिकाका चारजना, डिलौशनी–३ का नौ जना, डिलाशैनी–७ का एक, पुर्चौडी नगरपालका–१० का एक र दार्चुला नौगाड–६ का एक जना रहेका छन् ।

मङ्गलबार मात्र व्यास गाउँपालिका–१ माल्पा भएर डिलाशैनी–१ का एक, वडा नम्बर २ का एक, वडा नम्बर ३ का एक, पुर्चौडी नगरपालिका–४ का पाँच जना नेपाल प्रवेश गरेका थिए । उनीहरुलाई मङ्गलबार व्यास सुनसेराको क्वारेन्टाइन राखेर आज सरदमुकाम खलङ्गा ल्याइएको दुहुँ गाउँपालिका स्वास्थ्य संयोजक प्रेमसिंह धामीले जानकारी दिनुभयो । उनीहरुको दुहुँ गाउँपालिका स्वास्थ्य शाखाले श्रीवगडमा स्वास्थ्य परीक्षण गरेर पठाएको छ ।

उनीहरुलाई महाकाली नगरपालिकाले निर्माण गरेको महेन्द्र नमूना मावि खलङ्गाको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण गरी खाना खुवाइएको महाकाली नगरपालिका विपद् शाखा प्रमुख भुवन जोशीले जानकारी दिनुभयो । महाकाली तरेर आएका बाह्य जिल्लाका सबैलाई स्थानीय तहको क्वारेन्टाइनमा पठाउने तयारी भएको संयोजक जोशीले बताउनुभयो ।

दार्चुलामा महाकाली नदी तरेर एक वैशाख १० गते यता मात्रै ७२ जना पुगेका छन् । प्रहरीका अनुसार वैशाख १० गते नौ जना, वैशाख १२ गते पाँच जना, वैशाख १३ गते ३४ जना, वैशाख १६ गते आड जना र वैशाख १७ गते १६ जना महाकाली तरेर प्रवेश गरेका छन् । चैत १३ गतेयता वैशाख ९ गते महाकाली नदीमा ट्युब, जाघार, पौडी खेलेर २२१ जना आइसकेका छन् ।

यसैबीच प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललगायत सुरक्षा निकायका प्रमुखले सीमा क्षेत्रका निरीक्षण गर्नुभएको छ । भारतीय क्षेत्रबाट नेपाली ल्याउने तयारी गरिरहेको बेला उनीहरुले दत्तु नाकासम्मको निरीक्षण गरी फर्किएका हुन् । प्रजिअ यदुनाथ पौडेलले पछिल्लो समय दत्तु क्षेत्रका नाका भएर नेपाली धमाधाम फर्किरहेको कारण सुरक्षा निकायका प्रमुखसहितको टोलीबाट अनुगमन निरीक्षण गरिएको बताउनुभयो । त्यस क्षेत्रमा सुरक्षाको अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया