औपचारिक क्षेत्रका मजदुरलाई एक महिनाको आधा तलब

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १८ वैशाख : औपचारिक क्षेत्र, उद्योग, पर्यटनलगायतमा काम गर्ने मजदुर कर्मचारी श्रमिकलाई सम्बन्धित रोजगार दाताले वैशाख महिनाको हुन आउने पारिश्रमिकको ५० प्रतिशत तत्कालै उपलव्ध गराउनुपर्ने व्यवस्था पनि सरकराले गरेको छ ।

डा खतिवडाका अनुसार बाँकी रकम व्यवसाय सञ्चालन भएपछि भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यस्ता व्यवसायलाई तरलता वा नगदको समस्या भए नेपाल राष्ट्र बैंकले सरलकर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने छ ।

लकडाउनका कारण तरलताको अभाव भएर ज्याला भुक्तानी गर्न असमर्थ भएका ठूला उद्योगलाई पनि सोही प्रयोजनका लागि उपयुक्त धितो लिई सहुलियतपूर्ण कर्जा दिने व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाउने छ । यसरी कर्जाको सुविधा माग गर्ने उद्योग वा प्रतिष्ठानले २०७६ पुस महिनामा सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा पेश गरेको पारिश्रमिक भुक्तानीको स्रोतमा कर कट्टी गरेको विवरण पेश गर्नुपर्नेछ ।

“यसको कारण के हो भने कृत्रिम रुपमा कामदार खडा गरेर मजदुर सङ्ख्या यति हुन् भन्ने नहोस् र मर्कामा परेका व्यवसायीले वास्तविक श्रमिकलाई ज्याला तिर्नुपर्ने स्थिति बन्न सकेको छैन, त्यसका लागि सरकारले राष्ट्र बैंकमार्फत सहयोग गर्ने सरकारको अभिप्राय हो”, डा खतिवडाले पत्रकार माझ भन्नुभयो ।

सरकारले सामाजिक सुरक्षा कोषको योगदानका विषयमा भने कोषमा आवद्ध भएका प्रतिष्ठानमा कार्यरत श्रमिक र रोजगारदाताको तर्फबाट २०७७ वैशाख र जेठ महिनामा गर्नुपर्ने योगदानको रकम असार मसान्तसम्ममा जम्मा गर्न पाउने व्यवस्था मिलाएको छ । अघिल्लो चैत महिनाको योगदान रकम भने सरकारले नै हालेको थियो ।

प्रतिक्रिया