चीनको चाङ्शा उड्यो हिमालय एयरलाइन्स

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १८ वैशाख:कोभिड–१९ सम्बन्धी अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन हिमालय एयरलाइन्सको जहाज चीनको चाङ्शा उडेको छ ।नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सको न्यारोबडी जहाज आज साँझ ६ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाङ्शाका लागि उडान भरेको कम्पनीले जनाएको छ ।

काठमाडौँबाट उडान भरेको यो जहाज आज राति १२ः५ बजे चाङ्शास्थित हुवानघुवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । एयरवस ३२० कलसाइन नाइनए एएलडब्लु कार्गो जहाज शुक्रबार बिहान ६ः४० बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउनका लागि चार्टर्ड उडान गरिएको कम्पनीका ब्राण्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले बताउनुभयो । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले लकडाउनको अवधिमा चीनमा यो दोस्रो चार्टर्ड उडान हो । यसअघि यही वैशाख १४ गते चीनको ग्वाङ्जाओमा चार्टर्ड उडान गरेको थियो ।

हिमालयको जहाज चाङ्शाबाट स्वास्थ्य सामग्री लिएर शुक्रबार बिहान काठमाडौँ अवतरण गर्नेछ । लकडाउनको अवस्थामा चीनको ग्वान्जाओबाट स्वास्थ्य मन्त्रालय तथा विभिन्न व्यवसायीले जहाज चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइरहेका छन् ।

हिमालय एयरलाइन्सले यस उडानका लागी आवश्यक लजिस्टिक सेवाशर्तहरुका लागि नियामक निकायबाट स्वीकृति पाएअनुसार सबै प्रकारका आधारहरु पूरा गरेर चाङ्शा उडान भरेको कम्पनीले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

हिमालयको चाङ्शासँग एयर लिंक पहिले नै स्थापित छ । कोभिड–१९को प्रकोप अघि नै हिमालयले २० नोभेम्बर २०१९ देखि मध्यचीनको हुनानप्रान्तको राजधानीचाङ्शाको साप्ताहिक सीधा उडान गर्दै आएको छ । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले पछिल्लो ग्वाङ्जाओ कार्गो उडान सफलतापूर्वक सञ्चालन गरेको ंर चाङ्शा कम्पनीको उडान स्थलहरू मध्ये एक भएकाले दोस्रो कार्गो उडानका लागि सहज भएको बताउनुभयो ।

उहाँले कोभिड–१९को प्रकोप हुनुभन्दा अघि नै चीनका पाँच शहरहरुमा उडान सेवा शुरु गरिसकेको र यी हवाई पूलहरूमार्फत महामारीका विरूद्ध लडाइँ जित्नु र राष्ट्रको आपूर्तिलाई सहज गर्न अत्यावश्यक मेडिकल सामग्री ल्याउन कम्पनी तयारी अवस्थामा रहेको बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको विशेष स्वीकृति प्राप्त गरिसकेपछि, हिमालय एयरलाइन्सको फ्लाईट क्रुले नेपाल सरकारको निर्देशनअनुसार स्वास्थ्य सुरक्षाका उपायहरू अपनाएको कम्पनीले जनाएको छ । उक्त कार्गो जहाजले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याउनेछ ।

नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका, क्वालालम्पुर, बेइजिङ्ग र छोङ्गिनसहित अन्य मुलुकका नौ गन्तव्यमा उडान भर्दै आएको छ । हिमालयले अहिले आठ बिजनेस क्लास र १५० इकोनोमीक्लास सीट भएका तीन ए३२०–२१४ सिरिज र आठ बिजनेस क्लास र १२० इकोनोमीक्लास सीट भएको एक ए३१९–११५ एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएको छ । एयरलाइन्सको निकट भविष्यमा ल्हासा उडान शुरु गर्ने योजना छ ।

प्रतिक्रिया