पासमा आफैँ मिति सच्याएर गाडी दौडाउँदै

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २० वैशाख: मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्न शुरु गरिएको बन्दाबन्दी ‘लकडाउन’ मा प्रयोग हुने सवारी साधनलाई दिइने पासको दुरुपयोग हुनेक्रम अझै रोकिएको छैन भने त्यसको उल्लङ्घन गर्ने मानिसको सङ्ख्यामा समेत कमि हुन सकेको छैन ।

झुठो विवरण पेश गरेर सवारी पास लिने तथा पुरानै पासलाई मिति सच्याएर प्रयोग गर्नेक्रम जारी छ । कतिपयले आफन्त बितेको भनेर पासको दुरुपयोग गरी मानिस चढाएको समेत फेला परेको प्र*हरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिले पनि दैनिकजसो नै पासको दुरुपयोग हुनेक्रम जारी छ ।

कोभिड–१९ को सङ्क्रमण दैनिकरुपमा देखिँदै आएकाले जोखिम कायमै रहेको भन्दै वैशाख १५ पछि लकडाउनलाई सरकारले थप कडाइ गर्न प्र*हरीलाई स्पष्ट निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा लकडाउनमा चलाउने सवारी सञ्चालनको निगरानीमा कडाइ गरिएको र अनावश्यकरुपमा बाहिर निस्किने व्यक्तिविरुद्धको कारवाहीलाई समेत तीव्र पारिएको नेपाल प्र*हरीका प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि मुलुकभर लकडाउन उल्लङ्घन गर्ने दैनिक तीन हजार मानिसलाई कारवाही गर्ने गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकामा मात्रै लकडाउन उल्लङ्घन गर्ने ८१ हजारलाई कारवाही गरिएको जानकारी दिनुभयो । यो बीचमा पासको दुरुपयोग गर्ने र पुरानो पास प्रयोग गर्ने झण्डै दुई हजार २०० गाडीलाई समेत कारवाही गरिएको छ । मुलुकभर लकडाउन उल्लङ्घन गर्ने एक लाख १० हजारभन्दा बढीलाई कारवाही गरिएको छ । यो अवधिमा उपत्यकाका तीन जिल्लामा मात्रै दुई हजार २०० सवारी पास प्रहरीले खिचेको छ ।

“धेरैजसो मिति सच्याएर चलाउने गरेको पाइयो”, महानगरीय ट्राफिक प्र*हरी महाशाखाका प्रमुख प्र*हरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भन्नुभयो, “तोकिएको पासबाहेक कसैलाई छुट छैन, प्र*हरीको पूरा निगरानी हुन्छ ।” स्थानीय प्रशासनले गत चैत ११ देखि १८ गतेसम्मका लागि सेतो रङको सवारी पासको व्यवस्था गरेको थियो ।

लकडाउन थपिएपछि एकदिने, तीनदिने र सात दिने पहँेलो पास जारी भयो । गत चैत २५ मा पुनःलकडाउन थपिएपछि प्रशासनले सात दिने पहेंलो पासलाई कायमै राखेको छ । तर एकदिने र तीनदिने पासको मिति सच्याउँदै गाडी प्रयोग गर्ने अवस्था अहिले पनि दोहोरिरहेको ढकालले बताउनुभयो ।

जुन काम र जुन प्रयोजनका लागि पास दिइएको हो, त्योभन्दाविपरीत पासको दुरुपयोग भएको समेत फेला परेकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको छ । अत्यावश्यक कामबाहेक अन्य समयमा घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यकरुपमा बाहिर निस्किने क्रमसमेत दोहोरिएको छ । अहिले पास नभएका गाडीसमेत नियमित सञ्चालन भइरहेको छ । आजमात्रै ट्राफिक प्रहरीले बिनापास चलाएका ४७५ गाडीलाई नियन्त्रणमा लिएको छ । दैनिकरुपमा यसरी बिनापास गाडी चलाउने गरेको पाइएको छ ।

यसरी उल्लङ्घन गर्ने कतिपय गाडीलाई घटनाको प्रकृति हेरेर तीन÷चार दिनसम्म होल्डमा राख्ने गरिएको महाशाखाले जनाएको छ । ट्राफिक प्र*हरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी जाँचको व्यवस्था मिलाएको छ भने अन्य स्थानमा संयुक्त जाँच हुने गरेको छ ।

स्थानीय प्रशासनले दुरुपयोग हुने सम्भावना बढेपछि यसअघि अनलाइबाट पास माग्ने प्रक्रियालाई समेत रोकिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउनको आदेश जारी गरेको थियो । उक्त आदेश वैशाख २५ सम्म जारी रहनेछ ।

प्रतिक्रिया