नेपालगन्जमा थप ६ जनालाई कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो

admin

बैशाख २१, २०७७ काठमाडौं : बाँकेको नेपालगन्जमा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार नेपालगन्जकै थप ६ जनामा कोरोना पुष्टि भएको हो। आइतवार साँझ कोरोना पुष्टि भएकाहरुबारे मन्त्रालयले विस्तृत जानकारी दिएको छैन। तर उनीहरु शुक्रबार र आइतवार भेटिएका १० संक्रमितकै परिवारका सदस्य र नातेदार रहेको बताइएको छ।

आइतवार दिउँसो मात्रै नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो। यही शुक्रबार त्यहाँका एकजना ६० वर्षीय मुस्लिम धर्मगुरुमा पहिलो कोरोना संक्रमण देखिएको थियो। नेपालगन्जमा यसअघि आइतवार दिउँसो संक्रमण पुष्टि भएका ९ जना कोरोना भाइरसका नयाँ बिरामीमध्ये ७ वर्षीय पनि रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जमा ७ वर्षीयदेखि ५८ वर्षीयसम्मलाई कोरोना देखिएको जानकारी दिएका छन्।

जसमा ५ पुरुष र ४ महिला थिए। सङ्क्रमितका परिवार र नजिकका आफन्त आठ जनालाई महेन्द्र बहुमुखी क्याम्पसस्थित क्‍वारेन्टाइनमा राखिएको थियो। कोरोना पुष्टि भएपछि उनीहरुलाई खजुरास्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा लगिने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठले नेपालगञ्जमा कोराना सङ्क्रमितको सङ्ख्या १६ पुगेको बताए।

‘परीक्षण भएका रिपोर्टमध्ये १६ मा पोजेटिभ भेटिएको हो, अरु जाँच गर्दैछौँ’, श्रेष्ठले भने, ‘धेरै सङ्ख्यामा रहेकोले रिपोर्ट तयार गर्न समय लागिरहेको छ।’ उनले शनिबार कोरोना सङ्क्रमितको परिवार तथा आफन्त र सम्पर्कमा रहेका ८३ को स्वाब परीक्षणका क्रममा तिनको पोजेटिभ भेटिएकाले अरु पनि भेटिन सक्ने बताए। शनिबार दिनभर सुरक्षाकर्मी र स्थानीय टोलवासी अगुवाको सहयोगमा कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको थियो।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ मा पर्ने जुलाहनपूर्वा टोलमा सङ्क्रमितको आवतजावत हुने गरेको पाइएपछि कोरोना परीक्षणका लागि स्वाब नमूना सङ्कलन गरिएको हो। बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या १६ पुगेको छ। आइतवार वीरगञ्जमा पनि एकजना संक्रमित भेटिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ।

प्रतिक्रिया