नेकपा विवाद फेरि सतहमै, अब बामदेवले पनि गुट बनाउने

admin

काठमाडौं, २५ वैशाख : पार्टी एकीकरणका लागि सबैले आत्मालोचना गरेर अघि बढ्ने र एक व्यक्ति एक मुख्य जिम्मेवारीको पुरानो समझदारीलाई ब्युँताउने सहमतिको बुझाइमै नेताहरूबीच तालमेल नभएपछि नेकपाको विवाद फेरि लम्बिएको छ ।

नेकपा सचिवालयको गत शनिबार बसेको बैठकमा पार्टीलाई विधि र पद्धतिबाट अघि बढाउने सहमति गर्दै बिहीबारका लागि स्थायी कमिटी बैठक डाक्ने निर्णय भएको थियो । तर यी चार दिनमा विषय समाधानतिर जानुको साटो झन् विवादोन्मुख भएको छ ।

सचिवालयको बुधबारको बैठकको सुरुमा भनाइ राखेका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अहिले कुनै एजेन्डा पनि नभएकाले स्थायी कमिटी बैठक बोलाइरहन आवश्यक नभएको बताएका थिए । जबकि बुधबार बिहानै दुई अध्यक्षबीच बैठकका एजेन्डा साँझ बस्ने सचिवालय बैठकले नै तय गर्ने सहमति भएसँगै बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने सूचना पठाइएको थियो ।

नेकपाको विधानअनुसार एक चौथाइ सदस्यले लिखित माग गरे १५ दिनभित्र बैठक बोलाउनुपर्ने प्रावधान छ । पार्टीका २० जना स्थायी कमिटी सदस्यले बैठक माग गर्दै अध्यक्षद्वयलाई पत्र पठाएको बिहीबार १५ दिन पुग्छ ।

बुधबार साँझ बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री ओलीले बिनाकारण पार्टी एकता नगरिएको भन्दै एकता कायम राख्न सबै पक्ष सोचविचार गरेर अघि बढ्नुपर्ने बताएका थिए । उनले अहिले मुलुक कोभिड–१९ को महामारीमा रुमल्लिरहेको र सरकारको नीति तथा कार्यक्रम ल्याउने बेला भएको उल्लेख गर्दै सबैको ध्यान त्यतातिर केन्द्रित गर्नुपर्ने बताए ।

तर शनिबार आफैंले बोलाउने निर्णय गरेको स्थायी कमिटी बैठकको भने औचित्य नरहेको उनको भनाइ थियो । ‘हामीले स्थायी कमिटी बैठकमा पेस गर्ने भनिएको राजनीतिक प्रतिवेदन पनि तयार भइसकेको छैन, बैठकमा के एजेन्डा लाने हो भन्ने पनि थाहा छैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘अहिले स्थायी कमिटी बैठक बस्नुको कुनै अर्थ छैन ।’

करिब १५ मिनेट बोलिसकेपछि प्रधानमन्त्री ओली आफू थाकेको भन्दै बैठकबाट उठेका थिए । ‘उहाँ म आज अस्वस्थ छु, थाकेको छु, अहिले जान्छु, सकें भने आउँछु भनेर जानुभयो,’ वरिष्ठ नेता झलनाथ खनालले भने, ‘हामी बसेर छलफल गर्‍यौं, उहाँलाई धेरै बेर कुर्‍यौं तर आउनुभएन ।’

प्रधानमन्त्री नै बैठकमा नआइसकेपछि बिहीबारका लागि डाकिएको स्थायी कमिटी बैठकका एजेन्डा र बैठक नै बस्ने या नबस्ने भन्नेबारे निर्णय दुई अध्यक्षले कुरा गरेर गर्नुस् भनेर बैठकबाट आफूहरू उठेको खनालले बताए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केही व्यस्तता र केही शारीरिक कारणले बैठकबाट बाहिरिएको जानकारी दिए । ‘बैठकमा सके सबै जना बस्ने हो, कहिलेकाँही सकिएन भने विभिन्न कारणले बैठकलाई जानकारी गराएर निस्कने प्रचलन छ,’ उनले भने, ‘आज प्रधानमन्त्री केही व्यस्तता र केही शारीरिक कारणले समेत जानकारी गराएर बैठकबाट निस्किनुभएको हो ।’

प्रधानमन्त्री निकट स्रोतले बताएअनुसार ओली दिउँसोदेखि नै बैठकमा लामो समय नबस्ने मुडमा थिए । ‘म केहीबेर बसेर निस्किन्छु, बाँकी बैठक उहाँहरूले नै चलाउनुहोला,’ ओलीले केही निकटस्थसँग भनेका थिए ।

आफू अस्वस्थ र थकित भएको भन्दै बैठकको सुरुवात गरेर उठेका ओलीले त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग करिब ३० मिनेट कुराकानी गरेका थिए । त्यसपछि उनले बुद्धजयन्तीका अवसरमा देशवासीका लागि दिने शुभकामना सन्देश रेकर्ड गराए । कान्तिपुर दैनिकमा विनु सुवेदीले समाचार लेखेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू