एजेन्सी, २५ बैशाख : अमेरिकामाथि भएको अहिलेसम्मकै ठूलो र खराब आक्रमणको कोरोना भाइरसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संज्ञा दिएका छन् । यसो हुनुमा उनले चीनलाई दोषी ठहराएका छन् ।
ट्रम्प प्रशासन भाइरसको सङ्क्रमण फैलिनुमा लगातार चीनलाई जिम्मेवार ठहराउँदै आइरहेको छ । साथै चीनमाथि कठोर कारबाही गर्ने कुरा पनि उठाउँदै आएको छ ।
अमेरिकाले महामारीको सामना गर्न नसकेपछि मानिसहरूको ध्यान भङ्ग गर्न आफूमाथिको आरोप लगाउँदै आएको चीनको भनाइ छ ।
कोरोना महामारीले दोस्रो विश्व युद्धताका जापानको पर्ल हार्बरमाथि गरिएको आक्रमण र दुई दशकअघि वर्ल्ड ट्रेड सेन्टरमा भएको सेप्टेम्बर ११(९/११) आक्रमणले भन्दा धेरै अमेरिकालाई प्रभावित बनाएको ट्रम्पले बताए ।
ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, यो हाम्रो देशमाथि भएको सबैभन्दा खराब आक्रमण हो । यो पर्ल हार्बर र वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणभन्दा धेरै भयानक छ ।
हामीमाथि कहिल्यै पनि यस्तो आक्रमण भएको थिएन । उनले अघि भने, यो कहिल्यै पनि हुनु हुँदैन थियो । यो सुरु हुनेबित्तिकै रोकिनुपर्ने थियो । यो चीनमा नै रोकिनुपर्ने थियो तर यो भएन ।
चीनको वुहान शहरमा कोरोना सङ्क्रमणको पहिलो घटना देखिएपछि अहिलेसम्म अमेरिकामा १२ लाख मानिस सङ्क्रमित भइसकेका छन् भने झण्डै ७३ हजारको ज्यान गएको छ ।