काठमाडौं, २५ बैशाख : सङ्घीय सांसदहरुको पनि कोरोना भाइरस परीक्षण गर्न थालिएको छ । शुक्रबारदेखि सङ्घीय संसद् बैठक सुरु हुने भएकाले (आज) बिहीबारदेखि सांसदहरुको पीसीआर विधिबाट कोरोना परीक्षण सुरु गरिएको संसद् सचिवालयले जनाएको छ ।
परीक्षणका लागि बिहीबार सांसदहरुको घाँटीको र्यालको नमुना सङ्कलन गरिएको र सबै जनाको परीक्षणको रिपोर्ट भरे बेलुकीसम्ममा आउने सचिवालयले जनाएको छ ।
सांसदहरुमा कोरोना भाइरस सङ्क्रमण भए-नभएको परीक्षण पीसीआर प्रविधिबाट हुने छ । त्यसका लागि बिहीबार बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि प्रतिनिधि सभा सांसदहरुको स्वाब सङ्कलन सुरु गरिएको छ ।
स्वाब सङ्कलन सङ्घीय संसद् भवन परिसर बानेश्रमा गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै सांसदहरुको महत्वपूर्ण काम भएको र हाउस सञ्चालन गर्नुपर्ने अवस्थामा सबै जिल्लाबाट आएका सांसदहरु हुने भएकाले स्वाब परीक्षण आवश्यक रहेको बताएका छन् ।
उनले सुरुमा प्रभावित क्षेत्रका सांसदहरुको मात्रै परीक्षण गर्ने भनिए पनि प्राविधिकहरुको सुझावका आधारमा सबै सांसदहरुको परीक्षण गर्न लागिएको बताए । उनले नमुना परीक्षण नगरि संस् सञ्चालन गर्दा कारणवश सङ्क्रमण फेला परेमा हाउस बन्द हुने र महत्वपूर्ण कार्य नै बन्द हुने अवस्था आउने भएकाले परीक्षण गरिएको बताए ।
कार्यव्यवस्था परामर्श समितिले पनि संसद् भवन छिर्नेहरु सबैको कोरोना भइरस परीक्षणसहित स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको थियो । संसद् बैठक स्थलमा पनि सांसदहरु बीचको दुरी कायम गरिने गरी व्यवस्था मिलाइएको छ भने संसद् प्रवेश गर्नेहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो जाँच गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बर्खे अघिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । यो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत, छलफल र पारित हुनेछ ।
नेपालमा अहिलेसम्म ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा २२ जना निको भएका छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सबै क्षेत्रमा सावधानी बढाइएको छ ।