काभ्रे : कोरोना भाइरस (कोभिड– १९) संक्रमण परीक्षण गर्दै आएको धुलिखेल अस्पतालमा किटको अभाव भएको छ । अस्पतालमा सरकारले यसअघि पठाएको किट सकिन लागेको बताइएको छ । दैनिक एक सयजनाको हाराहारीमा स्वाब परीक्षण गर्ने क्षमता भएको अस्पतालमा परीक्षण किटको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनुभयो ।
धुलिखेल अस्पतालमा कोरोना परीक्षण सुरु भएपछि ६ सय किट उपलब्ध भएकोमा पाँच सय ८५ जनाको परीक्षण भइसकेको डा. झाले बताउनुभयो । पाँच सय ८५ जनाको परीक्षण भएकोमा ६९ जना काभ्रेका हुन् भने अन्य पाँच सय २० जना अरू जिल्लाबाट आएको स्वाबको परीक्षण गरेको हो ।
धुलिखेल अस्पतालका कोरोना परीक्षण ल्याब विभागका सूचना अधिकारी डा. सुमनराज ताम्राकारले कोरोना परीक्षण किट अभावले परीक्षणका लागि स्वाब आए पनि परीक्षण गर्न नसकिने अवस्थामा रहेको बताउनुभयो । धुलिखेल अस्पतालमा हप्ताको दुई दिन आइतबार र बुधबार कोरोना भाइरसको परीक्षण हुदैँ आएको छ । धुलिखेल अस्पतालमा चैत २३ गतेदेखि कोरोना भाइरसको परीक्षण सुरुभएको थियो ।