भारतले लखेटेपछि दशगजामै बास

राष्ट्रिय समाचार समिति

बाँके, २७ वैशाख : भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किए । भारत श्रावस्ती जिल्ला भिन्गास्थित क्वारेन्टाइनले उनीहरुलाई राख्न नमानेपछि भारतीय प्र*हरीले नरैनापुर गाउँपालिका–१ सुइँया नाकाबाट उनीहरुलाई नेपाल प्रवेश गरायो ।

‘मजदूर फर्किएको सूचना प्राप्त हुनेबित्तिकै नरैनापुर गाउँपालिकाले उनीहरुलाई आदर्श मावि लक्ष्मणपुरमा रहेको क्वारेन्टाइनमा राखेको थियो’, गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भन्नूुभयो, ‘तर सशस्त्र प्र*हरीले २१ जनालाई लगेर दशगजामा राखेको छ ।’ भारतमा रोजगारी गरी घर फर्कने मजदूरको अवैध प्रवेशका कारण भारतसँग सीमा जोडिएको नरैनापुरमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको अध्यक्ष शाहले बताउनुभयो ।

भारतबाट आएर दशगजाबाट लुकीछिपी आफ्नो गाउँघर पुग्न खोज्ने युवालाई प्रहरीले दशगजामै छेक्ने गरेको छ । कामदारका परिवारले उनीहरुलाई क्वारेन्टाइनमा राख्न अनुरोध गरे पनि आफूहरुलाई नेपाल भित्रिन नदिने निर्देशन भएकै कारण क्वारेन्टाइनमा राख्न नमिल्ने सशस्त्र प्र*हरी बल गंगापुरका इन्चार्ज वीरेन्द्रबहादुर जिसीले बताउनुभयो । ‘नेपाल प्रवेश गर्न नदिने निर्देशन विपरीत लुकीछिपी प्रवेश गरेको पाइएकोले उनीहरुलाई क्वारेन्टाइनमा राख्न मिलेन ।

हामीलाई प्रवेश गर्न नदिने निर्देशन छ ।’, इन्चार्ज जिसीले भन्नुभयो, ‘प्रवेश गर्न नदिने भनेपछि क्वारेन्टाइनमा राख्न दिने प्रश्न नै आउँदैन । यद्यपि यसअघिदेखि नै नरैनापुर गाउँपालिकाले भारतबाट आएका कामदारलाई क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्दै आएको छ ।’ भारतले उता बस्न नदिने र नेपालले दशगजाभित्र पस्न नदिने गरेकाले नेपाली पीडित बनेको नेपाली काँग्रेस क्षेत्र नं १ का नेता रामचन्द्र मौर्यको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘गाउँ फर्किनेहरु नेपाली नागरिक भएकाले उनीहरुको व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्छ, पन्छिन मिल्दैन ।’ प्रदेश नं ५ सरकारले मंगलबार नै एक सूचना जारी गरी सबै स्थानीय तहमा भारतबाट आउने कामदारलाई लक्ष्य गरेर उनीहरुको व्यवस्थापनका लागि थप क्वारेन्टाइन निर्माण गर्न निर्देशनसमेत दिएको छ ।

‘केन्द्र सरकारले कुनै पनि व्यक्ति प्रवेश गर्न नपाउने सूचना जारी गरेको छ, यो आपसमा विवादित देखियो’, गाउँपालिकाका अध्यक्ष शाहले भन्नुभयो, ‘हामी व्यवस्थापनका लागि तयार छाँैं तर प्रहरीले सीमाबाट प्रवेश गर्न दिँदैन ।’ सीमा क्षेत्रमा अहिले पनि १०० भन्दा बढी कामदार अलपत्र अवस्थामा छन् ।

बुधबार राति नरैनापुर–५ का तीन कामदार पसेको सूचना आएपछि उनीहरुलाई प्र*हरीले फेरि भारततर्फ फिर्ता पठाएको छ । ‘भारतले दशगजासम्म आउन दिने तर नेपाल प्र*हरीले नेपाल प्रवेशमा रोक लगाउनुहुँदैन’, नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले भन्नुभयो ।

गत साता नै नरैनापुर क्षेत्रबाट ५६ धर्मगुरुको स्वाब संकलन गरी जाँच गरिएकामा सबैको रिपोर्ट निगेटिभ आएको छ । भारतबाट आउने कामदारका कारण जोखिम हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको इलाका प्र*हरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले बताउनुभयो ।

प्रतिक्रिया