थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमितको संख्या १२० पुग्यो

admin

काठमाडौं, २९ बैशाख : नेपालमा सोमबार थप १० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ का २० र ३४ वर्षका दुई-दुई तथा १८, १९, २४, ३०, ३१ बर्षका र उमेर नखुलेका एकजना गरि १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा १ सय २० जनामा कोरोना पुष्टि भएको छ । ३३ जना निको भएर घर फर्किएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । अहिलेसम्म सङ्क्रमण हुनेमा महिला भन्दा पुरुष धेरै छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका १० जनासमेत ८८ जना पुरुष र ३२ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै सबैभन्दा धेरै प्रदेश ५ मा कारोनाको सङ्क्रमण देखिएको छ ।

त्यहाँ अहिलेसम्म ४० जनामा सङ्क्रमणपुष्टि भएको छ । यस्तै, प्रदेश १ मा ३५, प्रदेश दुईमा ३१ जना, वाग्मती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा दुई, र सुदूरपश्चिम प्रदेशमा पाँच जनालाई कोरोनाको सङ्क्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म ५६ हजार ६ सय ५७ जनाको आरडीटी र १६ हजार ८ सय ९८ जनाको पीसीआर गरी ७३ हजार ५ सय ५५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीका अनुसार सोमबार सङ्क्रमण पुष्टि भएका सबैजना क्वारेन्टीनमै छन् र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

प्रतिक्रिया