सर्लाहीमा एक मानसिक रोगीमा कोरोना पोजेटिभ

admin

सर्लाही, ३१ बैशाख : सर्लाहीको हरिपूर्वा नगरपालिका-३ धनकौलमा एकजना मानसिक रोगीमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । योसँगै सर्लाहीमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई पुगेको छ ।

धनकौलका ४५ वर्षीय एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । सङ्क्रमित व्यक्तिको २६ गते जनकपुरमा पिसिआर टेष्ट गरिएको थियो ।

त्यहाँ निगेटिभ आएपछि उनलाई घरमै राखिएको थियो । मंगलबार राति १०ः१५ बजेको समयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति जारी गरेपछि सर्लाहीमा थप एक व्यक्ति कोरोना सङ्क्रमित भएको कुरा जानकारीमा आएको थियो ।

काठमाडौंबाट पिसिआर टेष्ट पोजेटिभ आएपछि मंगलबार राति नै उनलाई खोज्न सर्लाहीका सुरक्षा निकायका प्रमुख धनकौल पुगेका थिए । सङ्क्रमित व्यक्ति मानसिक रोगी भएकाले उनलाई राति घरबाट निकाल्न करिब तीन घण्टा लागेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

क्याचिङ रडले घरबाट तानेर गाडीमा हालेर बिहान २ बजे प्रादेशिक अस्पताल जनकपुर पठाइएको उनले बताए । उनका परिवारका सदस्यलाई राति नै हरिपुर्वास्थित रहेको क्वारेन्टाइनमा पुर्‍याइएको हरिपुर्वा-३ धनकौलका वडाध्यक्ष धनराज महतोले जानकारी दिए ।

सङ्क्रमित भेटिएको ठाउँलाई अहिले सिल गरिएको उहाँले बताउनुभयो । यसअघि सर्लाहीको धनकौल गाउँपालिका-५, हरकठवा गोठका १४ वर्षीय बालकमा कोरोना पोजेटिभ देखिएको थियो । अहिले उनको उपचार वीरगञ्जमा भइरहेको छ ।

प्रतिक्रिया