भक्तपुरमा सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय

राष्ट्रिय समाचार समिति

भक्तपुर, ३१ वैशाख: भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ । नगरपालिकालको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकबाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुईवटा मुख्य सडकलाई खुला गर्ने र अरु सबै सडक स्थानीयबाहेक नयाँ मान्छेका लागि पूर्णरुपमा बन्द गरिएको छ, ती सडकमा पानी, खाद्यान्न, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधनबाहेक अरुलाई प्रवेश निषेध गरिएको छ, बाहिरबाट आएका नयाँ मान्छेलाई मध्यपुरथिमि प्रवेशमा पूर्णरुपमा रोक लगाएको छ ।”

मध्यपुरथिमि नगरपालिकाभित्रका घरधनीलाई बाहिर जिल्लाबाट आएका कोही पनि व्यक्तिलाई बस्न नदिन निर्देशन जारी गरेको बताउँदै उहाँले कोरोना परीक्षण नगरी बसेका व्यक्तिमा पछि कोरोना भएको पुष्टि भएमा घरधनीलाई कारवाही गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “हामी जटिल अवस्थामा छौँ, यस्तो बेलामा सानो लापरवाहीले ठूलो नोक्सान हुनसक्छ, त्यसैले कोरोना नेगेटिभ पुष्टि भएको प्रमाण बोकेर आउनेबाहेक विभिन्न जिल्लामा गएर फर्केर आएका व्यक्तिलाई आफ्नै कोठामा पनि बस्न दिएर संक्रमण भेटिएमा घरधनी आफै कारबाहीको भागिदार हुनुपर्छ ।”

नगरपालिकाले लकडाउनलाई कडा गर्ने बताउँदै बिहान ९ बजेसम्म मात्रै तरकारी बजार खोल्न पाउने, खाद्यान्न, औषधि, ग्यास, पानीजस्ता अत्यावश्यकबाहेकका सम्पूर्ण पसल बन्द गरिने बताउनुभयो । मासु, भट्टी, चियाखाजा पसल, फुटपाथ पसल पनि बन्द गराइने भएको छ ।

अत्यावश्यकबाहेक अन्य पसल खोलेमा कारवाही गरिने भएको छ । लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गराउन प्रहरीको साथै नगरपालिकाले १२५ जना स्वयंसेवक खटाउने भएको छ । परिचालन हुने स्वयंसेवकलाई प्रशासनको समन्वयमा नगरपालिकाले उपलब्ध गराएको पोशाक लगाएर परिचालन गरिने भएको छ ।

नगरपालिकाका सबै जनप्रतिनिधिको स्वाब सङ्कलन गरी आफ्नै प्रयोगशालामा परीक्षण गरिएको छ । आज अपराह्न ४ बजे नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्थापना भएको ल्याबमा कोरोनाको परीक्षण गरिएको हो । रिपोर्ट भने आउँन बाँकी छ ।

नगरपालिकाले कोरोना परीक्षण गर्न ल्याएको ल्याबलाई सरकारले अझै सञ्चालनमा स्वीकृति नदिँदा अन्य व्यक्तिको स्वाब सङ्कलन एवं परीक्षण गर्न नपाए पनि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी एवं स्थानीय सञ्चारकर्मीको भने स्वाब सङ्कलन गरेर परीक्षण गर्ने भएको छ ।

यही २९ गते सुनसरीबाट आएर मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकस्थित साथीको कोठामा बसेकी एक २५ वर्षीया महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका करिब २० घरलाई प्रहरीले सिल गरेपछि नगरपालिकाले कडा निर्णय लिएको हो ।

ललितपुरको निदान अस्पतालमा कार्यरत नर्सलाई कोरोना सङ्क्रमण भएपछि मङ्गलबारबाटै टेकुस्थित आइसोलेन वार्डमा भर्ना गरिएको छ । थिमि शङ्खधर चोकमै बस्ने उनकी साथी शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यरत एक नर्सको भने भक्तपुर अस्पतालमा आज स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएर सोही अस्पतालको आइसोलेसनमा राखिएको छ ।

भक्तपुर कै चाँग्ुनारायण नगरपालिका–१ दुवाकोट बस्ने सशस्त्र प्रहरी बलका एक प्रहरीलाई पनि कोरोना सङ्क्रमण भएको पाइएको थियो । उनको पनि टेकु अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमित प्रहरीका छोरासहित परिवारलाई पनि परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ ।

शङ्खधर चोकको सिल गरिएको बस्तीका बासिन्दाको पनि भक्तपुर अस्पतालमा कोरोना परीक्षण शुरु गरिएको छ । त्यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत स्टाफ नर्समा कोरोना भाइरस पोजेटिभ नदेखिएको केन्द्रले दाबी गरेको छ ।

प्रतिक्रिया