आज देखिएका सर्लाही, धनुषा र महोत्तरीका पुरानै संक्रमित

admin

काठमाडौं, १ जेठ : सरकारले कोरोना भाइरस (कोभिड-१९) का संक्रमित २४५ नै रहेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले १०।१५ बजे पछिल्लो विज्ञप्ति जारी गरी नयाँ देखिएका पाँच संक्रमित पुरानै रहेकाले संक्रमितको संख्या २४५ जना नै रहेको स्पष्ट गरेका छन् ।

यसअघि मन्त्रालयले ७.४५ बजे जारी गरेको विज्ञप्तिमा धनुषा, महोत्तरी र सर्लाही तीन जिल्लाका पाँच जना नयाँ सङ्क्रमित भनिएकामा सच्याइएको उनले जानकारी दिए ।

“अद्यावधिक विवरणअनुसार कोभिड-१९ को पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै रहेको छ”, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ पछिल्लो अद्यावधिक विवरणअनुसार २५० भएकामा प्राविधिक कारणले पहिल्यै नै पुष्टि भएका पाँच जनाको विवरण पुनः रिर्पोटिङ भएको जानकारी गराउन चाहन्छु ।”

यसअघि मन्त्रालयले २५० जनामा कोभिड-१९ भएको पुष्टि गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बिहीबार देखिएका नयाँ संक्रमितमध्ये काठमाडौं, चन्द्रागिरिका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका रहेको बताए ।

मन्त्रालयले पहिले बिहान ६.१५ बजे दुई र पछि ७.४५ बजे पाँच जना नयाँ संक्रमित भन्दै विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।

प्रतिक्रिया