औषधिबाहेकका पसल तोकिएको समयमा मात्र खोल्न पाइने

admin

रुकुमपूर्व, १ जेठ : रुकुम (पूर्व) मा बिहीबारदेखि लकडाउनलाई थप कडा बनाइने भएको छ । नेपालका विभिन्न क्षेत्रमा कोरोना संक्रमित बढ्दै गएपछि जिल्लामा लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्न लागिएको हो ।

जिल्ला सुरक्षा समितिको बुधबारको बैठकले बिहीबारदेखि यही जेठ ५ गतेसम्मका लागि स्वास्थ्य सेवाबाहेक अन्य सबै पसल तोकिएको समयमा मात्र खोल्न पाइने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अञ्जु पोखरेलले बताइन् ।

सोअनुसार स्वास्थ्य सेवाबाहेक अन्य अत्यावश्यकीय पसल बिहान ६ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने छ ।

गृह मन्त्रालयले नै एक जिल्लाबाट अर्को जिल्लामा आवतजावतमा रोक लगाइसकेपछि अत्यावश्यकीय अवस्थामा जिल्लाभित्रै सवारी साधन चलाउनुपर्ने भएमा अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ ।

क्वारेन्टाइनमा बसेकाको आरडिटी
जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका क्वारेन्टाइनमा बसेका पाँच जनालाई घर पठाइएको छ । दुई सातासम्म क्वारेन्टाइनमा बस्दा उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएपछि घर पठाइएको हो ।

सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रुक्मिणी माविको क्वारेन्टाइनमा बसेका तीन र पुथाउत्तरगंगा गाउँपालिका हुकामको देउराली माविको क्वारेन्टाइनमा बसेका दुई जनालाई घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रुकुम (पूर्व) का निमित्त कार्यालय प्रमुख यादवप्रसाद शर्माले बताए ।

रुक्मिणी क्वारेन्टाइनमा बसेका तीन जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको हो । क्वारेन्टाइनमा बसेकाहरुको जिल्लामै पहिलो पटक आरडिटी गरिएको हो । त्यसैगरी एक कैदीको पनि आरडिटी गरिएको छ ।

आरडिटी गरिएका चारै जनाको रिपोर्ट नेगेटिभ आएको शर्माले बताए । देउराली क्वारेन्टाइनमा बसेका दुई जनालाई भने सामान्य स्वास्थ्य जाँचपछि घर पठाइएको छ । क्वारेन्टाइनमा दुई साता पूरा गरी घर फर्किएकाहरु देशका विभिन्न जिल्लाबाट आएका हुन् ।

जिल्लामा किट अभावकै कारण क्वारेन्टाइनमा बसेका सबैको आरडिटी हुन नसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । आपत्कालीन अवस्थाका लागि भनेर राखिएका ३१ किटमध्येबाट ती चार जनाको आरडिटी गरिएको हो । पछिल्लो चरणका कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा जिल्लामा किट अभावले थप समस्या भएको छ ।

प्रतिक्रिया