आजदेखि मौसम सुधार

admin

काठमाडौं, १ जेठ : विगत केही दिनयता नेपालमा विकसित मौसमी प्रणालीहरु क्रमशः हटेर बिहीबारदेखि देशभर मौसम सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गरेकाले वर्षा भइरहेको बताइएको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले यी प्रणाली नेपालबाट बाहिरिइसकेकाले अब केही दिन मौसम सफा हुनेछ । अहिले नेपालमा प्रिमनसुनको समय भएकाले प्रिमनसुनको प्रभावमात्र रहेको छ ।

प्रिमनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ । दिउँसो देशको पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रही अपराह्नपश्चात् पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

शुक्रबार देशका पूर्वी र मध्य भूभागलगायत पश्चिमी पहाडी भूभागमा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने छ । शनिबार देशको पहाडी भूभागमा सामान्य बदली रही पूर्वी र मध्य भू-भागका केही स्थान तथा पश्चिमी भूभागका एक दुई स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव १ डिग्री सेल्सियस रहेको छ ।

बिहीबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १० दशमलव शून्य डिग्री र सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ३७ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया