कोरोनाबारे भ्रम फैलाउने पास्टर धरौटीमा रिहा

राष्ट्रिय समाचार समिति

काठमाडौं : जुम्ला घर भई पोखरा १७ पावर हाउसमा बस्ने पास्टर केशवराज आचार्यको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो। कोरोना भाइरस रोकथामका लागि नेपालमा लकडाउनको घोषणा भएपछि भाइरल भएको भिडिओमा आचार्यले ‘ओइ, कोरोना तँ मरिजा येशुको नाममा’ भनेका छन्।

भिडिओमा उनले ‘परमेश्वरको क्रिया चाइनामाथि’ भएको बताएका छन्। उनको भाइरल अर्को भिडिओमा एचआइभी र क्यान्सरजस्ता रोगका बिरामीसमेत प्रार्थना गरेर निको बनाइदिएको दाबी गरेका छन्। ‘एक जना बहिनीलाई एचआइभी लागेको रहेछ, हामीलाई प्रार्थना गरिदिनुपर्‍यो भनेर खबर आयो,’ आचार्यले भनेका छन्, ‘अनि म गएर ओइ एचआइभीको भाइरस तँ मरिजा भनेर एचआइभीको भाइरसलाई श्राप दिएँ।’

आचार्यले ती १७ वर्षीय युवतीलाई आशिष दिएपछि एचआइभीको किटाणु मरेको बताए। ‘मलाई पछि खबर आयो एचआइभी छैन भने,’ उनले भने, ‘मेसिन बिग्रिएको रहेछ कि भनेर अर्को हस्पिटलमा चेक गर्दा भाइरस मरिसकेको रहेछ।’

यसरी धर्मको नाममा अफवाह फैलाएको भन्दै पास्टर आचार्यलाई चैत १० गते राति कास्की प्र*हरीले प*क्राउ गर्‍यो। पोखरा १७ पावरहाउसबाट प*क्राउ परेका आचार्यमाथि छानबिन गरेर चैत २७ गते ‘अफवाह फैलाएको’ आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीमा मुद्दा दर्ता गर्‍यो।

प्रशासनबाट २७ गते नै ५ हजार धरौटीमा रिहा भएका आचार्यलाई प्रहरीले ‘धर्म परिवर्तन’ सम्बन्धमा जिल्ला अदालत कास्कीमा वैशाख ४ गते मुद्दा दायर गरेको थियो। अदालतले वैशाख ७ गते ५ लाख धरौटीमा रिहा गरे पनि उनले धरौटी नबुझाएपछि पुर्पक्षका लागि जेल चलान गरेको थियो।

अदालतले तोकेको धरौटी तिरेपछि अचार्य बुधबार कास्की कारागारबाट रिहा भए पनि प्रहरी हिरासतबाट भने मुक्त भएका छैनन्। कास्कीमा मुद्दा अनुसन्धानकैक्रममा अफवाह र धर्म परिवर्तनसम्बन्धी उजुरी जिल्ला प्र*हरी कार्यालय डोल्पामा पनि परेको थियो।

डोल्पा प्रहरीले अनुसन्धानका लागि ‘त्यहाँबाट छुट्ने भए यहाँ पठाउनु’ भन्ने पत्रका आधारमा बुधबार नै उनलाई डोल्पा पठाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर नरहरि अधिकारीले बताए। ‘हामीले जिल्ला-जिल्ला ट्रान्सफर गर्दै आचार्यलाई डोल्पा पठाएका छौं,’ उनले भने, ‘दुई-तीन दिनमा डोल्पा पुग्लान्।’

इन्स्पेक्टर अधिकारीका अनुसार आचार्यलाई बुधबार ने स्याङ्जा प्रहरीको जिम्मा लगाएको छ भने स्याङ्जाबाट पाल्पा हुँदै प्रहरीले डोल्पा पुर्‍याउनेछ। आचार्यले बयानका क्रममा के भने भन्नेबारे प्र*हरीले खुलाउन चाहेन। ‘मुद्दा अदालतमा विचाराधीन छ,’ कास्की प्र*हरी प्रवक्ता समेत रहेका इन्सपेक्टर अधिकारीले भने, ‘हामीले उहाँको आस्थाको पनि सम्मान गर्नुपर्छ, अहिले सार्वजनिक गर्न मिल्दैन।’

प्रतिक्रिया