मास्क र पञ्जाको प्रयोग, संसद्मा राष्ट्रपतिलाई स्वागत

admin

काठमाडौं, २ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रमको सम्बोधनका लागि आउँदा नयाँ बानेश्वरस्थित सङ्घीय संसद्मा स्वागत गरिएको छ ।

राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेलगायतले स्वागत गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीमा सम्मानमा सलामी दिइएको थियो । बैठकमा सहभागी हुन उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्ति यसअघि उपस्थित भइसकेका छन् ।

राष्ट्रपतिको स्वागतका लागि संसद् सचिवालयले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पानीको फोहरा, ध्वजापताका र राष्ट्रिय झण्डा फहराउनाका साथै सुरक्षा प्रबन्ध गरेको छ ।

राष्ट्रपति मास्क र पञ्जामा
राष्ट्रपति विद्यादेवी भण्डारी मास्क लगाएर सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आएकी छिन् ।

विश्वभर कोरोना भाइरसको महामारी चलेका बेला हुन लागेको संसद्को बजेट अधिवेशनको संयुक्त बैठकलाई सम्बोधन गर्न उनी अपराह्न मास्क र हातमा पञ्जासहित आएकी हुन् ।

सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा भने उनले मास्क हटाएकी छिन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रायः सबै सदस्यले पनि कोभिड -१९ सङ्क्रमण जोखिमबाट बच्न मास्क प्रयोग गरेका छन् ।

प्रतिक्रिया