‘नेपालमा कोरोना सङ्क्रमण नियन्त्रण बाहिर गएको छैन’ : मन्त्री जम्मकट्टेल

राष्ट्रिय समाचार समिति

हेटौँडा, २ जेठ: वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण नियन्त्रणबाट बाहिर नगइसकेको बताउनुभएको छ । केही मात्रामा सङ्क्रमितको सङ्ख्या बढेको भए पनि सबै नागरिकको साथ सहयोग प्राप्त भइरहेमा कोरोना सङ्क्रमण फैलनबाट जोगिन सकिने उहाँको भनाइ छ ।

आज रासससँग कुरा गर्दै मन्त्री जम्मकट्टेलले आफूले अन्य प्रदेशबाट वाग्मती प्रदेश प्रवेश गर्ने नाकामा कडाइ गर्न निर्देशन दिएको र त्यसको प्रत्यक्ष अनुगमनसमेत भइरहेको बताउँदै लकडाउनलाई समेत कडा पारिएको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले कोरोना भाइरसका कारण सिर्जित समस्याको दीर्घकालीन समाधान खोज्ने बताउनुभयो ।

मन्त्री जम्मकट्टेलले कोरोनाको माहामारी देशको अर्थतन्त्रलाई मजबुत बनाउने अवसरका रुपमा लिइने धारणा राख्नुभयो । भारत तथा अन्य देशबाट स्वदेश फर्किएका नागरिकमा अब विदेश नगएर आफ्नै देशमा केही गरौँ भन्ने भावना विकसित भएको पाइएकाले त्यो भावनाको सम्बोधन हुने गरी नीति तथा कार्यक्रम ल्याइने उहाँको भनाइ छ । “खाडीमुलुकलगायत कतिपय देशबाट मलाई फोन आएका छन्, उहाँहरुले म नेपाल आएपछि अब चाहीँ विदेश फर्कन्न भन्ने कुरा गर्नुभएको छ, अब उहाँहरुलाई उत्पादनमा लगाएर देशको अर्थतन्त्रलाई मजबुत बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले सामाजिक न्यायसहितको समाजवादमा जाने उद्देश्यसहित अगाडि बढेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार परिवर्तन नहुने धारणा राख्नुभयो । नेकपाले पाँच वर्षको स्थिर सरकार सञ्चालन गर्ने म्याण्डेट पाएको उल्लेख गर्दै मन्त्री जम्मकट्टेलले यो कार्यकालपछि पनि नेकपाले नै सरकार बनाउने उल्लेख गर्नुभयो । “यो पाँच वर्षमात्रै होइन नेकपाले यो देशमा चिरकालसम्म सरकार सञ्चालन गर्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया