रामपुर, २ जेठ: छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीमा कोरोना भाइरस सङ्क्रमणका बिरामी भेटिएपछि पाल्पा जिल्लालाई बन्द गरिने भएको छ ।
कोरोना सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले शनिबार बिहान ५ देखि जेठ ५ गते सोमबार राति १२ बजेसम्म जिल्ला बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञेश्वर पन्थीले जानकारी दिनुभयो । औषधि, एम्बुलेन्स, शववाहनलगायत अत्यावश्यक वस्तुको गाडीबाहेक कुनै पनि सवारी साधन सञ्चालन नगर्ने र उद्योगव्यवसायसमेत सञ्चालन नगर्ने निर्णय बैठकले गरेको छ ।
आइशोलेशन वार्ड बनाइने
जिल्लामा कोरोनाको सङ्क्रमणका बिरामीका लागि १२० शय्याको आइसोलेशन कक्ष तयार गरिने भएको छ । कोरोना रोकथामका लागि सम्बन्धित पालिकाको सहयोगमा रामपुर र तानसेन नगरपालिकामा पचासपचास, रम्भा र रिब्दिकोट गाउँपालिकामा १०÷१० शय्याको आइसोलेशन कक्ष तयार गर्ने निर्णय भएको छ । यसअघि तानसेनको पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र रामपुर अस्पतालमा गरी ६२ शय्याको आइसोलेशन कक्ष तयार पारिएको छ ।
यस्तै कोरोना भाइरस सङ्क्रmमण बढ्दै जान थालेपछि रामपुर नगरपालिकासँग जोडिएका विभिन्न पालिकाका सीमानाकामा कडा गर्न ज्यालादारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । अन्तरपालिका तथा गण्डकी प्रदेशसँग जोडिएका ३२ सीमानाकामा सुरक्षा व्यवस्था मजबुत बनाउन ज्यालादारीमा सुरक्षाकर्मी परिचालन गरिने नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
यसैबीच कोभिड–१९ बाट मुक्तिको कामना गर्दै स्याङ्जा, पाल्पा र तनहुँको संगमस्थल केलादीघाट धाममा ज्येष्ठ नागरिकले भजनमार्फत भगवान्को प्रार्थना गर्न थालेका छन् । प्रत्येक दिन बिहान, दिउँसो र साँभm सामाजिक दूरी कायम गरी ज्येष्ठ नागरिकले कोरोना भगाउन भजनकीर्तन गर्दै आत्मशान्तिको कामना गरिरहेका छन् ।
कोरोना भाइरस सङ्क्रमणले महामारीको रुप लिँदै गएपछि यहाँ कोरोनाको कहर भगाउन भजनकीर्तन गर्दै भगवान्सँग प्रार्थना गर्ने गरिएको ७७ वर्षीय कृष्णदासी पौडेलले बताउनुभयो ।
मन्दिरमा हुने धार्मिक गतिविधि बाहिरबाट आउनेका लागि खुला गरिएको र पूजापाठ सबै स्थगन गरिएको मन्दिरका हेरालु ६२ वर्षीय भगवती उपाध्याय बताउनुहुन्छ । केलादीधाम आश्रममा हाल पाँच हेरालुसहित २२ ज्येष्ठ नागरिक रहेको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधामका सचिव घनश्याम खनालले बताउनुभयो । यहाँ बाहिरबाट भने प्रवेशमा निषेध गरिएको छ ।