पर्सामा सङ्क्रमितसँग सम्पर्क भएकाको जाँच हुँदै

राष्ट्रिय समाचार समिति

बागलुङ, ३ जेठ: गलकोट नगरपालिकाबाट पर्सा गएका १४ मजदुरमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना जाँच हुँदैछ । ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा पत्ता लागेका १०९ जनाको स्वाब सङ्कन गरी जाँचका लागि पोखरास्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौका अनुसार आइतबार साँझसम्ममा सबै जाँचको रिपोर्ट आउनेछ । क्वारेन्टाइनमै बसिरहेका ती मजदुरमा गलकोटबाट बस चढेर गएको १९ दिनपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नगरपालिकाले बस चढाइ पठाएका ८० मजदुरमध्ये १४ जनामा कोरोना देखिएको थियो ।

सबै मजदुर निर्माणका क्षेत्रमा काम गर्थे । शुक्रबार र शनिबार गरी चार वडामा स्वाब सङ्कलन गरिएको थियो । वडा नं ३ मा २६, ५ मा २९, ६ र ७ मा गरी ५५ जनाको स्वाब लिइएको वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिनुभयो । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सर्वसाधारणलगायत गरी १०९ जनाको स्वाब सङ्कलन गरिएको छ ।

जिल्लाबाट गएका मजदुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीयवासीमा त्रास छाएको थियो । यद्यपि उनीहरुको सङ्क्रमणको स्रोतबारे केही थाहा हुनसकेको छैन ।

गत चैतमा भेटिएका दुई सङ्क्रमित उपचारपछि निको भइ घर फर्केयता जिल्लामा थप सङ्क्रमित भेटिएका छैनन् । सङ्क्रमण रोक्न उच्च सतर्कता अपनाइएको छ । बन्दाबन्दीलाई झन् कडा तुल्याइएको छ ।

प्रतिक्रिया