सिंहदरबार प्रबलीकरण पुनःशुरु

राष्ट्रिय समाचार समिति

काठमाडाँैं, ३ जेठ :कोभिड–१९ सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण केही समय प्रभावित भएको सिंहदरबार प्रवलीकरणले पुनःगति लिएको छ । सिंहदरबारको पश्चिम मोहडामा जगको काम भइरहेको छ । बाँकी तीन मोहडामा प्रवलीकरणको मुख्य काम सम्पन्न भई टायलरमार्बल एवं रङरोगनको काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

सिंहदरबार प्रवलीकरणको कार्यान्वयन हेर्ने प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का उपनिर्देशक झप्परसिंह विश्वकर्माले स्वास्थ्य तथा सुरक्षाका उपाय अपनाएर कामदार थप्दै प्रवलीकरणलाई अघि बढाइएको बताउनुभयो । सामाजिक दूरीमा राखी कामदार परिचालन गरिएको छ ।

निर्माण कम्पनीले निर्माणस्थलमा बाँकी रहेका तथा स्थानीयस्तरमा उपलब्ध निर्माण सामग्री प्रयोग गरिरहेको छ । निर्माण सामग्री उपलब्ध भएसम्म काम अघि बढाउन सकिने उहाँको भनाइ छ । कामदारलाई सानोसानो समूहमा परिचालन गर्ने तथा कार्यक्षेत्रमा जानुअघि ज्वरो नाप्ने गरिएको निर्माण कम्पनी गौरी पार्वती÷न्यू टेक्निकल जेभीका प्रतिनिधि लक्ष्मी सुवेदीले जानकारी दिनुभयो ।

चार वटा मोहडाको प्रवलीकरणमा हाल ११९ कामदारले काम गरिरहेका छन् । कामदारलाई कार्यस्थलमै बस्ने तथा खाने व्यवस्था गरिएको उहाँले बताउनुभयो । बन्दाबन्दीका कारण रोकिएको रानीपोखरी एवं धरहरा पुनःनिर्माणको काम यसअघि नै शुरु भइसकेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया