कोरोना संक्रमण आशंकामा लालपुर बन्द

राष्ट्रिय समाचार समिति

गुलरिया, ३ जेठ: बर्दिया जिल्ला सदरमुकाम गुलरिया नगरपालिका ११ लालपुरका २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको आशंकामा आजदेखि उक्त टोल पूर्णरुपले बन्द गरिएको छ । उक्त टोलसंँग जोडिएका सबै सडकबाट टोल आवागमनमा पूर्ण रुपले रोक लगाइएको छ ।

स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको सूचनामा बर्दिया नार्खु– ११ की २८ वर्षीयामा कोभिड १९ पुष्टि भएको जनाइएको थियो ।

बर्दियामा उक्त ठाउँ नै नभएका अवस्थामा संक्रमित भनिएको ब्यक्तिको खोजी गर्दा गुलरिया ११ लालपुर भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीले बताउनुभयो ।

लालपुर स्थायी घर भई काठमाडौंँमा व्यवसाय गर्दै आएका व्यक्ति गत वैशाख २९ गते काठमाडौँ फर्किएको बुझिएकाले लालपुर पूर्णरुपले बन्द गरिएको हो । लालपुर सदरमुकाम गुलरियाबाट ६ किलोमिटर पूर्व हुलाकी राजमार्गसंँग जोडिएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको सूचनाका आधारमा कोरोना भाइरस संक्रमित लालपुरका हुन सक्ने आशंकामा बन्द गरिएका बारे अनुसन्धान अगाडि बढाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया