मृतक महिलाका आफन्तको स्वाब सङ्कलन, अस्पतालमा उच्च सतर्कता

राष्ट्रिय समाचार समिति

काभ्रेपलाञ्चोक, ३ जेठ :धुलिखेल अस्पतालमा मृत्यु भएकी एक सुत्केरी महिलाको शिशुसहित श्रीमान्, सासू र नन्दको कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको परीक्षण गर्न आज दिउँसो स्वाब सङ्कलन गरिएको र उहाँहरूलाई अस्पतालको क्वारेन्टिनमा राखिएको छ ।

गत बिहीबार राति ९ः३० बजे उपचारार्थ धुलिखेल अस्पताल पु¥याइएकी सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिलाको केही समयपछि नै मृत्यु भएको थियो । मृतकका परिवारका सदस्यले नै ती महिलाको श्वासप्रश्वासमा देखिएको लक्षणअनुसार कोरोना भाइरस सङ्क्रमणको शङ्का गरेर धुलिखेल अस्पताल पु¥याएका थिए ।

अस्पतालका प्रवक्ता एवं प्रसूतिरोग विशेषज्ञ डा सुमनराज ताम्राकारले १० दिनकी ती सुत्केरी महिलाको मृत्यु भएपछि हिजो नै थप परीक्षणका लागि स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको बताउनुभयो ।

डा ताम्राकारले ती महिलाको बाह्रबिसेस्थित अस्पतालमा ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको र धुलिखेल अस्पतालमा शुक्रबार पोलिमरेज चेञ्ज रियाक्सन (पिसीआर) परीक्षणमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि काठमाडौँ पठाइएको जानकारी दिनुभयो । आज स्वास्थ्य मन्त्रालयले पनि मृतक महिलाको स्वास्थ्यका विषयमा थप विवरण सङ्कलन गरिरहेकाले कोरोना भाइरसका कारण मृत्यु भएको पुिष्ट भइनसेकको जनाएको छ ।

धुलिखेल अस्पतालका अनुसार बिहीबार राति ९ः३० बजे अस्पताल ल्याइपु¥याउँदा नै ती महिलाको अवस्था निकै गम्भीर थियो र ट्युब राखेर भेन्टिलेट गर्दा पनि सुधार आएको थिएन । महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा पारामेडिकललगायत गार्डसमेतको स्वाब सङ्कलन गरी उहाँहरूलाई पनि अस्पतालको क्वारेन्टिनमा राखिएको छ । मृतक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि शुक्रबारदेखि नै अस्पतालमा उच्च सतर्कता अपनाइएको अस्पतालले जनाएको छ ।

मृतकका परिवारले गत वैशाख २३ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा महिला सुत्केरी भएकी र २४ गते अस्पतालबाट घर पठाइएको केही दिनपछि स्वासप्रस्वासमा समस्या देखिन थालेको बताएका थिए । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले मृतक महिलाको थप परीक्षणको रिपोर्ट आएपछि अस्पताललगायत जिल्लामा थप सतर्कता अपनाउनेबारे निर्णय गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया