एकै महिनामा ३० हजार सुत्केरी स्वास्थ्य संस्थाको सम्पर्कबाहिर

admin

काठमाडाैं, ४ जेठ : कोरोनाले देश र दुनियाँ त्रस्त छ, रोकथाम र उपचारका लागि अनेक प्रयत्न र बहस भइरहेका छन् । तर, यतिवेला सुत्केरी आमाहरूको स्वास्थ्य सुरक्षा छायामा परेको छ । अस्पतालसम्म पहुँच नपाएर, अस्पताल पुगे पनि उपचार नपाएर सुत्केरीको मृ’त्यु भइरहेको छ । कोरोनाका वेला बढेको मातृ मृत्युदर चिन्ताजनक छ ।

संक्रमणको डरले अस्पतालले सेवा दिँदैनन् भनेर तथा अस्पतालसम्म पुग्ने यातायात साधन नपाएर ग्रामीण क्षेत्रका गर्भवती अहिले घरमै सुत्केरी हुन थालेका छन् । यो संख्या सामान्य छैन । गत माघदेखि कोरोना संक्रमणको त्रास फैलिएपछि फागुनदेखि नै गर्भवती महिला अस्पताल जान कम भएको देखिन्छ ।

यो फागुनमा १५ हजार एक सय ८७ महिला सुत्केरी भएको सरकारी तथ्यांक छ । जब कि अघिल्लो वर्ष यही महिनामा ३२ हजार चार सय १० महिला सुत्केरी भएको तथ्यांक आएको थियो । त्यस्तै वर्ष ०७४ को फागुनमा २७ हजार महिला सुत्केरी भएका थिए ।

तर, यो फागुनमा नै ठूलो संख्यामा गर्भवती महिला स्वास्थ्य संस्थाको सम्पर्कबाहिर रहे । अझ चैतको तथ्यांक त आश्चर्यजनक छ । यो चैतमा जम्मा १४ सय ३६ महिला सुत्केरी भएको तथ्यांक आएको छ । यो हिसाबले फागुनमा १५ हजार र चैतमा ३० हजार सुत्केरी स्वास्थ्य संस्थाको सम्पर्कबाहिर छन् । तिनको स्वास्थ्य कस्तो छ भन्ने विषय साँच्चै सोचनीय छ ।

घरमै र असुरक्षित रूपमा सुत्केरी हुँदा सुत्केरी आमाहरूको स्वास्थ्य अवस्था नाजुक हुने मात्र होइन, मृत्यदर पनि ह्वात्तै बढेको छ । फागुनमा मात्रै १४ जना गर्भवतीको मृत्यु भएको छ, जब कि यो संख्या अघिल्ला वर्षको यही महिनाको तुलनामा तीन गुणा बढी हो । ०७४ र ०७५ को फागुनमा मातृ मृ’त्यु तीन र पाँच थियो । अझ चैतमा त ५३ जनाको मृ’त्यु भएको छ । गत वर्ष चैतमा मातृ मृ’त्यु शून्य थियो ।

सरकारले स्वास्थ्य सेवा विभागअन्तर्गतको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन महाशाखा (एचएमआइएस)को तथ्यांकका आधारमा सुरक्षित मातृत्व कार्यक्रमसम्बन्धी राष्ट्रिय योजना तर्जुमा गर्छ । महाशाखाका तथ्यांक अधिकृत वीरबहादुर रावल भन्छन्, ‘मातृ मृ’त्युको संख्या घट्दै जानुपर्ने हो, तर यसपालि ह्वात्तै बढेको छ । यो चिन्ताको विषय हो ।’

सरकारी तथ्यांकअनुसार हरेक वर्ष देशभर करिब चार लाख महिला गर्भवती हुन्छन् । धेरैजसो स्वास्थ्य संस्थामा सुत्केरी हुन्छन् भने न्यून मात्रले घरमै बच्चा जन्माउने गरेको सरकारी तथ्यांकले देखाउँछ ।

गत वर्ष चार लाख १२ हजार दुई सय ३० महिला गर्भवती भएकोमा स्वास्थ्य संस्थामा चार लाख पाँच हजार नौ सय ९३ र घरमा ६ हजार दुई सय ३७ महिला सुत्केरी भएका थिए । अर्जुन अधिकारीले नयाँ पत्रिका दैनिकमा समाचार छापेका छन् ।

प्रतिक्रिया