क्वारेन्टिनमा रहेका युवकको मृ’त्यु

राष्ट्रिय समाचार समिति

राँझा, ४ जेठ :बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृ’त्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृ’त्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताउनुभयो ।

फाइल फोटो

उहाँका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृ’त्युु भएको थियो । क्वारेन्टिनमा बसेका युवकको मृ’त्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृ’त्यु भएको जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि मृ’तक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने उहाँको भनाइ छ ।

एकैदिन आठ सङ्क्रमित भेटिएको नरैनापुरमा सङ्क्रमितको सम्पर्कमा आएका २६३ जनाको शनिवार स्वाब सङ्कलन गरिएको छ । पहिलो चरणमा सङ्क्रमित आठ जनाको सम्पर्कमा आएका २८४ जनाको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गर्न नेपालगञ्जबाट स्वास्थ्य टोली खटिए पनि शनिबार २६३ जनाको सङकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवम् कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा नरैनापुरका विभिन्न स्थानमा क्वारेन्टिनमा राखिएका र सङ्क्रमितको सम्पर्कमा आएका २८४ जनाको स्वाब सङ्कलन गरिँदैछ । यसक्रममा आवश्यकताका आधारमा थप आशङ्कितको पनि स्वाब सङ्कलन गर्न सकिने छ ।

भारतबाट आएका व्यक्तिमा सङ्क्रमण देखिएकाले अन्यत्र फैलिन नदिन सजगता अपनाइएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । उहाँले भारतबाट आएका नागरिकबाट कोरोनाको जोखिम रहेकाले परीक्षण गर्नगराउन गाउँपालिकावासीलाई आग्रहसमेत गर्नुभयो ।

राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टिनमा राखेको छ । गत बुधबार जिल्ला स्वास्थ्य कार्यालय नेपालगञ्जबाट खटिएको स्वास्थ्य टोलीले त्यहाँ शङ्कास्पद ४५ जनाको स्वाब नमूना सङ्कलन गरी भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा नरैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय आठ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हाल नरैनापुर गाउँपालिकामा निर्माण भएका ११ क्वारेन्टिनमा रहेका ६४१ नेपाली सबै भारतबाट आएका हुन् । पछिल्लो समयमा भारतका विभिन्न ठाउँमा बाँके प्रवेश गर्नेमा नरैनापुरका बढी छन् । भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी सीमामा अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टिनमा राखेको छ ।

नरैनापुरका सङ्क्रमित आठै जनालाई उपचारका लागि दाङको बेलझुण्डीस्थित प्रदेश सरकारको कोरोना विशेष आइसोलेशन अस्पतालमा पठाइएको छ । बाँकेमा सङ्क्रमित ३३ पुगेसँगै यहाँका अन्य स्थानीय तहले सतर्कता अपनाएका छन् ।

प्रतिक्रिया