बाँकेका क्वारेन्टिन भरिभराउ

राष्ट्रिय समाचार समिति

राँझा, ४ जेठ : बाँकेका स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टिन भारतबाट फर्किएका नेपालीले भरिभराउ भएका छन् । भारतीय सीमावर्ती क्षेत्रमा अलपत्र नेपालीलाई मुख्य नाकाबाटै स्थानीय प्रशासनले नेपाल भित्र्याएपछि क्वारेन्टिनमा बस्ने ह्वात्तै बढेको हो ।

भारतबाट आउने नेपालीको चाप बढ्दै गएपछि यहाँका स्थानीय तहले क्वारेन्टिन बढाएका छन् । बाँकेमा अहिले ४१ क्वारेन्टिनमा एक हजार १२६ जना बसिरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार ७३ पुरुष र ५३ महिला बाँकेका क्वारिन्टनमा रहनुभएको छ । नरैनापुरमा शुक्रबार मात्रै भारतबाट आएका आठ जनामा कोरोना सङ्क्रमण फेला परिसकेको छ ।

भारतसँग सीमा जोडिएको डुडुवा गाउँपालिकामा निर्माण भएका पाँच क्वारेन्टिनमा १६८ जना बसिरहेका छन् । खजुरा र बैजनाथ गाउँपालिकामा सातसात क्वारेन्टिन छन् । खजुरामा २४ र बैजनाथमा ३० नेपाली क्वारेन्टिनमा रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

राप्तीसोनारी गाउँपालिकाका चार क्वारेन्टिनमा ३९, नेपालगञ्ज उपमहानगरपालिकाका दुई क्वारेन्टिनमा ११९, कोहलपुर नगरपालिकाका दुई क्वारेन्टिनमा २३, जानकी गाउँपालिकाका दुई क्वारेन्टिनमा २३ र नेपाली सेनाले बनाएको क्वारेन्टिनमा ७४ जना बसिरहेको उहाँको भनाइ छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले भारतबाट घर फर्किने नेपाली बढ्दै गएकाले क्वारेन्टिन व्यवस्थापनमा समस्या हुँदै गएको बताउनुभयो । उहाँले अब प्रदेश र केन्द्रीय सरकारले सहयोग नगरे क्वारेन्टिन सञ्चालन गर्न कठिन हुने गुनासो पनि गर्नुभयो ।

प्रतिक्रिया