नेपालमा कोरोना सङ्क्रमणबाट थप १ जनाको ज्यान गयो

admin

काठमाडौं, ४ जेठ : नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट अर्का एक जनाको ज्यान गएको छ ।

शनिबार राति बाँकेको नरैनापुर गाउँपालिकाको क्वरेण्टीनमा बसेका युवाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बैशाख ३० गते भारतबाट आएर दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वरेण्टीनमा बसेका युवाको आइतबार बिहान ज्यान गएको हो ।

यसबारे थप विवरण आउँन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । नरैनापुरको विभिन्न क्वरेण्टीनमा बसिरहेका दुई सय ६३ जनाको शनिबार नै स्वाब सङ्कलन गरिएको थियो ।

मृतकका आफन्त र स्थानीयबासीन्दाले भने समयमै अस्पताल पुर्‍याउन नसकेको कारण युवकको ज्यान गएको दाबी गरेका छन् । स्थानीयबासिन्दाले पीपीईको अभावमा एम्बुलेन्स चालकले अस्पताल पुर्‍याउन नमानेको आरोप लगाएका छन् ।

नरैनापुरमा युवकको ज्यान गएसँगै नेपाली सेनाको उपस्थितिमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मृतक युवकको शव क्वरेण्टीनमै रहेको अन्त्येष्टि कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए ।

यसअघि गएको बिहीबार काभ्रेको धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरीको कोरोनाको कारण ज्यान गएको मन्त्रालयले पुष्टि गरेको थियो । आइतबार रौतहटका १० जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या दुई सय ९१ पुगेको छ । ३६ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया