हात्तीले दैनिक घर भत्काउन थाल्यो

admin

सप्तरी, ५ जेठ : लामो अवधिसम्म भएको लकडाउनका कारण हातमुख जोर्न समस्या भएका बेला सप्तरीमा हात्तीले गरिबको घर दैनिक भत्काउन थालेको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट तीन वटा संख्यामा आएको हात्तीको समूहले गए राति अग्निसाइर कृष्ण सवरण गाउँपालिका-६ मोहनपुरका मोतीलाल विश्वकर्माको घर भत्काएको छ ।

हात्तीले घर भत्काई अन्नसमेत खाइदिएपछि गरिब एवं वृद्ध विश्वकर्माको बिजोग भएको स्थानीय बाबुराम बस्नेतले बताए । चार वर्ष अघि श्रीमतीको मृत्युपछि विश्वकर्मा घरमा एक्लै बस्दै आएका छन् ।

रुपनी गाउँपालिका-६ मा हात्तीको समूहले बिहीबार राति दीपककुमार तामाङको घर भत्काएको छ । घर तोडफोड गरी खाद्यान्नलगायतका सामग्री नष्ट गरेपछि तामाङ परिवारको दैनिकी कष्टकर बनेको छ ।

मध्यरातमा आएको हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाएको दीपककी श्रीमती हीराले बताए । घर छाडेर भागेपछि हात्तीले चामल, मकै, पिठो, कोदो, सोलार, टिनको बाकस र घरसहित गरी रु दुई लाख बराबरको क्षति गरेको पीडितले बताए ।

लकडाउनले रोजगारी खोसिएका बेला हात्तीले घर भत्काई खाद्यान्नसमेत खाइदिएपछि छाक टार्न समस्या भएको पीडितहरु बताउँछन् । सप्तरीको उत्तरी भेगको बस्तीमा दैनिक मध्यरात भएपछि हात्तीको समूह गाउँ प्रवेश गरी घर भत्काउन थालेकाले आङ्तक बढेको छ ।

आरक्षबाट आएको तीनवटा हात्तीको समूहले बैशाखको अन्त्यमा शम्भुनाथ नगरपालिका-२ भलुवाहीकी ३८ वर्षीया जानुका मगरको ज्यान लिएको थियो । अग्निसाइर कृष्ण सवरण गाउँपालिका-५ मोहनपुरमा पुष्पराज बञ्जारा र अम्बिका राईको घर भत्काएको थियो ।

बैशाखकै तेस्रो साता सोही गाउँपालिका-२ मा प्रवेश गरेको हात्तीको समूहले वीरेन्द्र राम, श्यामकुमार राम, लक्ष्मीदेवी राम र नारायण रामको घर तोडफोड गरी धान, गहुँ, चामललगायतका खाद्यान्न खाएको थियो ।

दिनभरि नजिकैको जङ्गलमा बस्ने हात्ती रात परेपछि गाउँ प्रवेश गरेर दैनिकजसो घर तोडफोड र मानिसमाथि आक्रमण गर्दै आएको छ । हात्तीले घर पनि भत्काएको र खाने सामग्रीसमेत नष्ट गरिदिएकाले एकैसाथ पेट भर्ने र ओत लाग्ने समस्या भएको विश्वकर्माले बताए ।

प्रतिक्रिया