धनकुटा अस्पताल आसपासका बजार सिल गरियो

admin

धनकुटा, ५ जेठ : स्टाफ नर्समा कोरोना सङ्क्रमण देखिएपछि जिल्ला अस्पताल आसपाससहित धनकुटा बजार क्षेत्रलाई सिल गरिएको छ । आइतबार राति व्यवस्थापन समितिको आकस्मिक बैठकले अर्को आदेश नभएसम्मको लागि अस्पताल आसपासका क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी तथा संयोजक केशव प्रसाद बिमलीका अनुसार सङ्क्रमित स्वास्थ्यकर्मीको सम्भावित क्षेत्रका जनताहरुको स्वस्थ्यलाई मध्यनजर गर्दै बजार क्षेत्र सिल गरिएसँगै आवत जावत पनि रोकिएको छ । अटेर गर्ने जोकोहीलाई पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिन सक्नेछन् ।

सिल गरिएको क्षेत्रमा सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । आइतबार साँझ सङ्क्रमित पुष्टि भएकी स्वास्थ्यकर्मीलाई साँझदेखि नै धनकुटा अस्पतालको आइसोलेन वार्डमा राखिएको छ । उनलाई बिहान ८ बजे कोरोना अस्पताल विराटनगर पाठाइएको छ ।

उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको थियो । अस्पतालमा २१ दिन यता आएका सेवाग्राहीहरुको ट्रेसिङ गरेर कोरोना परीक्षणलाई तीव्रता दिने पनि निर्णय पनि भएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, प्रहरी र प्रशासनका कार्यरत कर्मचारीहरुको केही दिन अघि मात्रै स्वाब परीक्षण गरिएको थियो । धनकुटा अस्पताल आएका बिरामीबाटै नै सङ्क्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ । सङ्क्रमित स्वास्थ्यकर्मी लकडाउनभन्दा अघिदेखि जिल्ला बाहिर नगएको खुलेको छ ।

धनकुटा नगरपालिका–७ को भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रदेखि, धनकुटा बसपार्क, बसपार्कदेखि जिरो प्वाइन्ट, जिरो प्वाइन्टदेखि परिचय मोड, परिचय मोडदेखि यलम्वर चोक, यलम्वर चोकदेखि सिनेमा हल, सिनेमा हलदेखि याक्चना घाट जाने त्रिवेणी चोक सम्मको क्षेत्रलाई सिल गरिएको छ ।

प्रतिक्रिया