ललितपुर, ५ जेठ : दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाले (आज) सोमबारदेखि आउँदो जेठ १० गतेसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
विश्वव्यापीरूपमा फैलिरहेको कोभिड-१९ का कारण मुलुक बन्दाबन्दी भई यहाँ दुई जना नेपालीले ज्यान गुमाइसकेको अवस्थामा महाँकालले आफ्नो गाउँपालिकामा जोखिम बढ्न नदिन शनिबार एक सूचना जारी गरी उक्त कुराको जानकारी गराएको हो ।
सूचनामा गाउँपालिकाबाट दैनिक बिक्री वितरणका लागि बजार जाने तरकारी तथा दूधका साथै अन्य दुईदेखि चार दुई पाङ्ग्रे सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख गरिएको छ । पालिकाभित्रका पसल भने बिहान ६ देखि दिउँसो ११ बजेसम्म खुल्न पाउने र होटल पूर्णरुपमा बन्द गर्न आग्रह गरिएको छ ।
यसैगरी गाउँपालिकामा बाहिरबाट आउने व्यक्तिको अन्य नाका तथा वडाबाट निगरानी गर्ने तथा गराउने र अत्यावश्यक कामबाहेक यस गाउँपालिकाबाट अन्य स्थानीय तह जान नपाउने कुरा सूचनामा उल्लेख गरिएको छ ।