अमेरिकामा संक्रमित घटे, जतिसक्दो चाँडो अर्थतन्त्र र जनजीवनलाई सहज बनाइन्छ : ट्रम्प

admin

काठमाडौं, ५ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताएका छन् ।

उनले संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले भनेका छन्- अमेरिकाभरमा कोरोना भाइरसको संक्रमण दरमा उल्लेख्य मात्रामा कमी आएको छ, यसबाट थोरै भए पनि आशा जागेको छ ।

शनिबार उनले आफ्नो ट्वीट अकाउन्टमा लेखेका छन्- यो धेरै राम्रो समाचार हो कि अमेरिकाभरमा कोरोना भाइरसको संक्रमणमा कमी आएको छ ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जनाएअनुसार त्यहाँ १४ लाख ८६ हजार ४२३ जना संक्रमित छन् । साथै यहाँ ८९ हजार ५५० जनाको ज्यान गएको छ । अप्रिलमा अमेरिकामा दैनिक कम्तीमा ३६ हजार जना संक्रमित हुने गरेकोमा अहिले भने त्यसमा उल्लेख्य कमी आएको बताइएको छ ।

अधिकांश अवस्थामा मानिसमा कोरोनाका सामान्य लक्षणहरु देखिन्छन् । तर ज्येष्ठ नागरिक र स्वास्थ्य समस्या रहेका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ । यस्ता व्यक्तिको मृत्यु पनि हुने गर्दछ ।

यसका साथै, राष्ट्रपति ट्रम्पले अमेरिकी अर्थतन्त्र र जनजीवनलाई जतिसक्दो चाँडो सहज तुल्याइने बताएका छन् । उनले एनबिसी टेलिभिजनलाई प्रतिक्रिया दिँदै भनेका छन्, “हामी खोप बनाउने, उपचार गर्नेतर्फ विचार गरिरहेकै छौं, तर यी कुराहरु निकै जटिल छन् ।”

राष्ट्रपति ट्रम्पका वरिष्ट आर्थिक सल्लाहकार पिटर नाभारोले कोरोनाभाइरस महामारीका बारेमा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पर्याप्त अध्ययन गर्न नसकेको बताएका छन् । अमेरिकामा मात्र ३ करोड ६० लाख मानिस बेरोजगार भइसकेका छन् ।

व्यवसायहरु बन्द भएका कारण ठूलो क्षति व्यहोर्न बाध्य धेरै अमेरिकी राज्यहरुले घरमै बस्ने र अरु प्रतिबन्धहरु हटाएका छन् । राज्यहरुले केही विशेष किसिमका व्यवसाय खुला गर्न दिइसकेका छन् ।

प्रतिक्रिया