कोरोनाको औषधि छैन, महामारीले देशलाई महँगोमा मूल्यवान शिक्षा दियो : प्रधानमन्त्री

admin

काठमाडौं, ६ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमणको औषधि नभएकाले स्वास्थ्य सहयोग अवलम्बन गरेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै उनले कोरोना सङ्क्रमणको औषधि नभएकाले स्वास्थ्य उपचारको लागि आवश्यक स्वास्थ्य सहयोग नै अवलम्बन गरेको बताएका हुन् ।

उनले कोरोनाको औषधि नै नबनेकाले उपचारात्मक विधि, परीक्षण, आइसोलेशन लगायतका कुरामा नै ध्यान दिएको दाबी गरे । यस्तै अस्पतालले पनि बाँच्नका लागि प्रतिरोधी क्षमता बढाउने वा स्वस्थ रहनको लागि मद्दत गर्ने, कोरोना फैलिन नपाओस्, अरुमा नसरोस् भन्नको लागि ध्यान दिने गरेको भन्दै आफै सचेत हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।

यसैगरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै कोरोना सर्ने भएकाले कोरोना पुष्टि भएका विरामीबाट अरुमा सर्न नदिन नै आइसोलेशनको व्यवस्था गरिएको उनले बताए । कोरोनाबाट बच्न लकडाउन पूर्ण रुपमा पालना गर्न र रोगप्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खान तथा आफ्ना आनीबानी बदल्न उनको सुझाव छ ।

कोरोना महामारीले देशलाई महँगोमा मूल्यवान शिक्षा दियो
प्रधानमन्त्री ओलीले कोरोना महामारीले महँगोमा नेपाललाई मूल्यवान शिक्षा दिएको पनि बताएका छन् । कोरोना तितो यथार्थ भएको र यसले आफू र आफ्नो सरकारलाई गम्भीर बनाएको उनको भनाइ छ ।

केही सांसदहरुले कोरोनामहामारी नै नभएजस्तो गरी नीति तथा कार्यक्रम आयो भनेको तर सरकारले कोरोनासँग लड्ने र यसको क्षति कम गर्न उत्तिकै ध्यान दिएको बताए । उनले कोरोनाले अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव पारेको तर यसो भन्दै गर्दा पुरै लम्पसार परेर मात्रै समस्या समाधान नहुने र अर्थतन्त्र चलायमान बनाउन विकास निर्माणलाई पनि जोड दिइएको बताए ।

बाँच्नको लागि र सामाजिक जीवन चलाउनकै लागि भएपनि आर्थिक चहलपहल बढाउनुपर्ने भन्दै प्रधानमन्त्रीले कोरोना कालमा अरु गतिविधिलाई पनि ध्यान दिइएको बताए । केही सांसद र नीजि क्षेत्रले राहतको प्याकेज नआएको बताएका बेला प्रधानमन्त्रीले भने, ‘प्याकेज देखाउने कुरा होइन । जता जाँदैछौं त्यसअनुसार आर्थिक हिसाबले काम गर्नुपर्ने हुन्छ । जसलाई प्याकेज जरुरी छ, सरकारले महसुस गरेर ल्याउँछ । रोजगारी सृजना गर्न र सबैको दैनिकी सहज बनाउने बाटोमा सरकार जान्छ ।’

गरिब, सहाराविहीन, अपाङ्गता भएकाहरु र श्रम गर्न नसक्नेहरुको सरकारले बिना सर्त जिम्मा लिने उनले बताए । आउँदा दिनमा यस्ता प्रबन्ध गर्न सरकार थप सक्रिय भएर अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

कोरोना महामारीपछि अर्थतन्त्रमा आत्मनिर्भर हुनुपर्छ
प्रधानमन्त्री ओलीले कोरोना महामारीले विश्वव्यापी असर पारिरहेका बेला नेपालले आफूलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउनुपर्ने भएको बताएका छन् । ।

छिमेकी भारतबाट सङ्क्रमित भएर आउने संख्या अत्यन्त बढी भएको र उनीहरु लुकेर बस्ने भएकाले गम्भीर भएर रोकथाममा लाग्नुपरेको जनाउँदै प्रधानमन्त्री ओलीले भने, “मानव जातिले कोरोनालाई पराजित गर्नेछ । नेपाललाई कोरोना मुक्त बनाउन र विश्व कोरोना मुक्त हुनेछ भन्ने विश्वास लिएका छौँ ।”

उनले अर्थतन्त्रमा पारेको प्रभावले उत्पादनमा ह्रास आएको र राजश्व कम उठेको, रेमिन्ट्यान्समा असर परेको जनाउँदै यसको सामना गरेर जीवन र समाज चलाउनुपर्ने उल्लेख गरे । उनले सम्भव हुनेसम्म रोजगारीका अवसर अपलब्ध गराउने र आयआर्जन सुनिश्चित गर्नु दिगो व्यवस्थापन हुने भएकाले अर्थतन्त्रलाई कमजोर हुन नदिनका लागि सरकार त्यस बाटोमा अग्रसर भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले भने, “हामी मुलुकमा न्याय र समानतासहितको विस्तृत लोकतन्त्रको पालनाका पक्षमा छौँ । हामी सर्फेसियल वा चल्ते चलाते लोकतन्त्रका पक्षमा छैनौँ ।” प्रधानमन्त्री ओलीले सात दशकभन्दा लामो सङ्घर्षपछि लोकतन्त्र रहेको र सङ्घीय संरचना स्थानीय तह निर्माण गरेर संविधानबमोजिम नयाँ कानूनको निर्माण र पुरानो कानून संशोधन गरिएको उल्लेख गर्दै सरकारले भौतिक संरचना निर्माण गरी सङ्घीयताको बाटोमा अघि बढाएको बताए ।

प्रतिक्रिया