प्रसारण लाइन अगाडिकै ढोकाबाट बनाइन्छ, एमसीसीबारे संसदले निर्णय गर्ने हो : प्रधानमन्त्री

admin

काठमाडौं, ६ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडिको ढोकाबाट एमसीसी छिराउन खोजिएको भन्ने सांसद भीम रावलको टिप्पणीको संसद्मा जवाफ दिँदै, लप्सीफेदी-रातमाटे-दमौली-बुटवल प्रसारण लाइन नेपाललाई नभई नहुने भएकोले बनाउनैपर्ने बताएका छन् ।

‘यो प्रसारण लाइन पछाडिको ढोकाबाट होइन, अगाडिकै ढोकाबाट बनाइन्छ । एमसीसीले बनाए उसैले बनाउँछ । नत्र हामीले बनाउँछौँ । यो प्रसारण लाइन नबने सयौँ मेगावाट बिजुली खेर जान्छ,’ ओलीले भने ।

एमसीसीको निष्कर्ष नेताले नभई संसदले निकाल्नुपर्ने बताए । अघिल्लो सरकारले एमसीसीबारे धेरै निर्णय गरेको र यो सरकारले उत्तराधिकारीको रुपमा एमसीसीलाई संसदमा प्रस्तुत गरेको ओलीको भनाइ छ ।

यो प्रस्ताव अहिलेको सरकारले नभई अघिल्लो सरकारले गरेको तर अहिलेको सरकारले त्यो निर्णय मान्दिन भन्न नमिल्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय विश्वसनीयताको कुरा पनि रहेको भन्दै ओलीले सम्झौता गर्ने बेलामा राष्ट्रिय हितको पक्षमा होसियार र सावधान हुनुपर्ने बताए । एमसीसी पास गर्ने कि नगर्ने कुरा सदनले निर्णय गर्नुपर्ने प्रधानमन्त्रीले बताए ।

प्रतिक्रिया