काठमाडौंका ७८ जनामा आरडिटी पोजेटिभ

admin

काठमाडौं, जेठ ६ : उपत्यकाका बढी भिडभाड हुने क्षेत्रहरुलाई केन्द्रित गरी ३ हजार बढीको कोरोना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाको तरकारी तथा फलफूल बजार कालिमाटी, नयाँ बसपार्क गोंगबु, भृकुटीमण्डप र सरसफाइ सेन्टरमा गरी लगायतका स्थानमा गरी नमुना २ हजार २ सय ३६ वटा आरडिटी र १ हजार १९ वटा पीसीआर विधिमार्फत परीक्षण गरिएको जनाएको छ।

तीमध्ये अहिलेसम्म ७८ जनामा आरडिटी पोजेटिभ देखिएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कालिमाटी क्षेत्रमा गरिएको ७ सय वटा आरडिटीको नमुना परीक्षणमा ३ वटा पोजेटिभ रिपोर्ट आएको बताए। पीसीआर विधिबाट गरिएका ३३४ वटाको परीक्षणमा भने सबै रिपोर्ट नेगेटिभ आएको छ। त्यस्तै, सरसफाइ सेन्टरमा गरिएको ६६४ वटा आरडिटी परीक्षणमा ३१ वटा नमुनाको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यहाँ गरिएको २६७ वटा पीसीआर परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ। यसैगरी गोंगबु क्षेत्रमा गरिएको ४२० आरडिटी परीक्षणमा १५ वटा पोजेटिभ रिपोर्ट आएको छ। १७२ वटा पीसीआर रिपोर्ट आउन बाँकी छ।

त्यस्तै, भृकुटीमण्डपमा ४५२ वटा आरडिटी परीक्षणमा ३२ वटा पोजेटिभ आएको छ । त्यहाँ गरिएको २४६ पीसीआर रिपोर्ट पनि आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । हालसम्म आरडिटी परीक्षणमार्फत पोजेटिभ रिपोर्ट आएकाहरुको पीसीआरमा पुनःपरीक्षण गर्ने क्रम जारी रहेको बताइएको छ।

गोकर्णेश्वरका स्वयमसेवकमा पनि पोजेटिभ
स्तै, गोकर्णेश्वर नगरपालिकाका एक स्वयमसेवक व्यक्तिको र्‍यापिड डाइग्नोस्टिक टेष्ट(आरटिडी) पोजेटिभ देखिएको छ। मंगलबार आरटिडी प्रविधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो। गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले कोरोना परिक्षण गर्दा एक नगरपालिकाका एक जना स्वयमसेवकको आरटिडी पोजेटिभ देखिएको जानकारी दिए।

‘आज नगरपालिकाका जनप्रतिनिधिसहित करिब तीन सय कर्मचारीको गोकर्ण प्राथमिक अस्पताल र शंखरापुर अस्पतालमा कोरोना परिक्षण गराइएको थियो,’उनले भने,‘एक जना स्वयमसेवकको आरटिडी टेष्ट पोजेटिभ देखिएको छ।

अरु सबैको नेगेटिभ देखियो।’ उनका अनुसार आरटिडी पोजेटिभ देखिएका ती व्यक्तिको थप पिसिआर परिक्षणका लागि टेकु अस्पतालमा पठाइएको छ। उनले टेकु अस्पतालबाट रिर्पोट आएपछि मात्रै कोरोना संक्रमित भएको वा नभएको पुष्टि हुने बताए।

प्रतिक्रिया