कोरोना पुष्टि भएको २३ घण्टापछि उपचार शुरु

admin

दैलेख, ७ जेठ : कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ ।

कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेशनमा ल्याइएको छ । सुर्खेत लैजाने वा दैलेखको आइसोलेशनमा राख्ने भन्ने विषयमा केही समय अन्योलता उत्पन्न भएको थियो ।

सङ्क्रमितको अहिलेको स्वास्थ्य अवस्था समान्य भएका कारण नारायण नगरपालिका दैलेखको सरस्वती मावि तर्तागङ्मा निर्माण गरिएको आइसोलेशनमा राख्ने तयारीसँगै जिल्ला स्वास्थ्य कार्यालय दैलेख र सुरक्षा निकायको टोली मंगलबार दैलेखबाट आठबीस नगरपालिका हिँडेको थियो ।

स्वास्थ्य कार्यालय दैलेखले शनिबार ३९ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएको थियो । कोरोना सङ्क्रमणको आशङ्का गरिएका युवा ३५ दिनभन्दा धेरै समय भारतको वनवासामा बसेर दैलेख आएका थिए ।

उनीहरुलाई बनवासा नाकाबाट आठबीस नगरपालिकाले उद्धार गरी चैत ३१ गते दैलेखको आठबीस नगरपालिकाको सात्तला विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएका खोप तथा सूचना अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए । सङ्क्रमण भएको जानकारी पाएलगत्तै आठबीस नगरपालिकामा उच्च सतर्कता अपनाइएको नगरप्रमुख खड्गराज उपाध्यायले जानकारी दिए ।

अहिले सात्तलामा रहेको क्वारेन्टिनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । छिमेकी मुलुक भारतबाट दैनिक जिल्लामा भित्रिने नागरिकको सङ्ख्या बढ्दै गएपछि सुरक्षा सतर्कता बढाइएको छ ।

सङ्क्रमित युवासँग ४९ युवा आएका थिए
कोरोना सङ्क्रमित युवा भारतको आग्रा भन्ने ठाउँमा आलु स्टोरमा काम गर्ने गरेको खुलेको छ । आग्राबाट ४९ सदस्यीय टोली गत चैत १८ गते कञ्चनपुर गड्डाचौकी नाकामा आइपुगेको थियो ।

उनीहरु त्यहाँ करिब ४५ दिन क्वारेन्टिनमा बसेका थिए । जेठ १ गते गड्डाचौकी नाकाबाट आठबीस नगरपालिकाका ३९, ठाँटीकाँधका आठ, दुल्लूका एक र चामुण्डाका एकसहित ४९ जनाको टोलीसँगै नेपाल आएका थिए ।

सबैलाई आफ्ना पालिकाको क्वारेन्टिनमा राखिएको भए पनि ठाँटीकाँध गाउँपालिकाले चार दिनसम्म क्वारेन्टिनमा राखेर पिसीआर जाँच गरेर रिपोर्ट नेगेटिभ आएपछि घर पठाएको थियो । सत्तलाका युवामा सङ्क्रमण देखिनेबित्तिकै पुनःक्वारेन्टिनमा राखिएको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।

आठबीस नगरपालिकाका स्थानीयवासीले वडा नं १ लाई तत्काल ‘सिल’ गरी आवश्यक कदम चाल्न सुझाव दिएका छन् । क्वारेन्टिनमा रहेका व्यक्तिले पालना गर्नुपर्ने नियम गर्न नसकेको, राति समूहमा देउडा खेल्ने, दिउँसो विभिन्न खेल खेल्ने गरेको देखिएकाले यसबारे थप सचेतना अपनाउन सबैलाई आग्रह गरेको स्थानीय वीरबहादुर नेपालीले जानकारी दिए ।

स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले उपचारका लागि आवश्यक सबै व्यवस्थापन गरिएको बताए । कर्णाली प्रदेश अस्पतालमा लैजाने विषयमा पनि छलफल भएको थियो ।

बिरामीको अवस्थाका आधारमा मात्र सिफारिस गर्ने कुरा भएपछि अहिले दैलेखको आइसोलेशनमा राखेर उपचार गरिने छ । बिरामीको स्वास्थ्य अवस्था निरन्तर जाँच गरिनेछ । स्वास्थ्य अवस्थाको आधारमा थप उपचारको तय गरिने डा. पन्तको भनाइ छ ।

प्रतिक्रिया