एघार जना भागीसके कपिलवस्तुको क्वारेन्टिनबाट

admin

कपिलवस्तु, ७ जेठ : यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् ।

 

भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिए । पन्ध्र दिनको क्वारेन्टिन अवधि पूरा भए पनि किट अभाव भन्दै करीब २० दिनसम्म परीक्षण नगरिएपछि उनीहरु भागेको उनले बताए ।

उनले भने “संघ र प्रदेश सरकारले समयमै परीक्षण किट उपलब्ध गराउन नसक्दा समस्या झन् बल्झिएको छ ।” खेतीको समय रहेकाले उनीहरु भागेको हुन सक्ने वडा नम्बर ६ का वडाध्यक्ष श्यामनारायण उपाध्यायले बताए ।

दुई दिनमा गरी ११ जना भागेपछि खोजी गर्न प्रहरीचौकी रंगपुर, प्रशासन र गाउँपालिकालाई पत्राचार गरिएको वडाध्यक्ष उपाध्यायले बताए । गत शनिबार मात्रै यशोधरा ८ को खोरियास्थित सरस्वती प्राथमिक विद्यालय र सिहोखोरस्थित राष्ट्रिय निमाविमा रहेका ४६ जना क्वारेन्टिनबाट भागेका थिए ।

उनीहरुलाई भागेको दुई दिनपछि फर्काएर पुनः सरस्वती विद्यालयमा निर्मित क्वारेन्टिनमा राखिएको छ । त्यस्तै सोमबार राति वडा नम्बर ५ को अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयको क्वारेन्टिनबाट समेत चार जना भागेका थिए । भागेका सबैलाई पुनः क्वारेन्टिनमा ल्याइएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले जानकारी दिए ।

क्वारेन्टिन सञ्चालन गरिका कतिपय स्थानमा पङ्खालगायत सुविधा र समयमै स्वाब परीक्षणको व्यवस्था नहुँदा क्वारेन्टिनमा राख्न समस्या भएको संयोजक ज्योति दुबेले बताए । कपिलवस्तुमा अहिलेसम्म ४७ कोरोना सङ्क्रमित भेटिएका छन् ।

कपिलवस्तुका दश स्थानीय तहका क्वारेन्टिनमा सात हजार ४५१ जना छन् । हालसम्म क्वारेन्टिनमा बसेर एक हजार ८०४ जना डिस्चार्ज भएका छने । जिल्लामा पिसिआरका लागि आवश्यक पर्ने एक हजार ७६५ भिटिएम किट उपलब्ध भएकामा करीब एक हजार चार सय जनाको स्वाब संकलन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया