काभ्रे: काभ्रे जिल्लाका विभिन्न क्वारेन्टइनमा २२ जना रहेको पाइएको छ । सबैभन्दा बढी जिल्लाको अति दुर्गम कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाले १७ जनालाई क्वारेन्टाइनमा राखेको छ । तर जिल्ला कमाण्ड पोष्टले भने चौरी देउरालीमा ७ जना र जिल्लाभर १२ जनामात्रै क्वारेन्टाइनमा रहेको दाबी गरेको छ ।
गाँउपालिकाका स्वास्थ्य संयोजक तेज बहादुर घिसिङले आरडिटी विधि मार्फत गरेको परीक्षणमा १० जना र अन्य ७ गरी १७ जना क्वारेन्टाइनमा रहेको जानकारी दिनुभयो । गाँउपालिकामा ३० बेडको क्वारेन्टाईन तयारी अवस्थामा छ । यता भुम्लु गाउँपालिकामा भने ६० ओटा आरडिटी किट प्राप्त भएकोमा ५९ जानको परीक्षण गरिएको गाँउपालिका स्वास्थ्य संयोजक सुर्दशन भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार परीक्षण गरिएका सबैको नेगेटीभ आएको छ । काभ्रे जिल्लाकै ४ जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । क्वारेन्टाइनमा बसेका सबै जनाको स्वाब परीक्षण भइरहेको छ ।
हालसम्म काभ्रे जिल्लाका १ सय ७२ जनाको पीसीआर विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ । यी कुनै पनि ब्यक्तिमा कोरोना भाइरस संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एव जिल्ला कमाण्ड पोष्टका सदसस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।