साढे ३१ हजार युवालाई तालिम दिने ६३ करोडको कार्यक्रम अलपत्र

admin

काठमाडाैं, ९ जेठ : कोरोना भाइरस संक्रमणका कारण शिक्षा मन्त्रालयअन्तर्गत सञ्चालनको क्रममा रहेका ६ अर्बभन्दा बढीका कार्यक्रम रोकिएका छन् । केही आधा सञ्चालन भएपछि रोकिएका छन् भने केही प्रस्ताव माग गरिए पनि आर्थिक वर्ष सकिन लागेकाले बजेट चलाउन नसक्ने अवस्थामा पुगेका हुन् । यो आर्थिक वर्षमा अधिकांश कार्यक्रम सञ्चालन नहुने निश्चित भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, विपन्न इभेन्ट परियोजनाले सञ्चालन गरेको साढे ३१ हजार बेरोजगार युवाको छोटो अवधिको तालिम, स्वयंसेवक शिक्षक परिचालन कार्यक्रम सञ्चालनकै क्रममा रोकिएका हुन् ।

त्यस्तै, प्रदेशस्तरमा सञ्चालन भइरहेको शिक्षक तालिम कार्यक्रम पनि कोरोनाका कारण रोकिएको छ । सबैभन्दा धेरै बजेट रहेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विद्यालयबाट प्रस्ताव मागे पनि अब सञ्चालन नहुने अवस्थामा पुगेको हो ।

देशको शैक्षिकस्तर सुधारका लागि सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम पहिलो वर्षमै असफल भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको प्रस्ताव पेस गर्ने समय दुईपटक बढाएको थियो । दोस्रोपटक गत ३० चैतसम्म समय दिइएको थियो । कोरोनाका लागि देशभर गरिएको लकडाउनले काम गर्न कठिनाइ भएपछि केन्द्रले परियोजना प्रस्तावको समय पुनः बढाएको थियो ।

लकडाउन जारी रहेको र कार्यक्रम सञ्चालन गर्ने समयसमेत नरहेकाले कार्यक्रम नै रोकिएको हो । केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले अब यो आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसकिने बताए ।

यसका लागि तीन अर्ब ७३ करोेड बजेट विनियोजन गरिएको छ । त्यही आधारमा केन्द्रले नियमित बजेटमा नसमेटिएका र अत्यावश्यक भएका विद्यालयलाई रकम उपलब्ध गराउन छिटो कार्यक्रम सक्ने गरी प्रस्ताव मागेको थियो ।

पहिलोपटक १५ चैतसम्म केन्द्रमा प्रस्ताव आइपुग्ने गरी समय दिइएको थियो भने त्यसपछि पाँच दिन थप गरी २० चैतसम्म एकमुष्ट रूपमा कागजात पठाउन परिपत्र गरेको थियो । तेस्रोपटक म्याद थपेर ३० चैतसम्म पुर्‍याएको थियो ।

विद्यालयको आवश्यकताका आधारमा खेलमैदान, अधुरा रहेका भवन निर्माण, कक्षाकोठा निर्माणलगायतलाई प्राथमिकतामा राखेर विभिन्न ११ क्षेत्रमा प्रस्ताव माग गरेको थियो । एउटा विद्यालयलाई बढीमा २५ लाखसम्म उपलब्ध गराउने गरी कार्यक्रम तय गरिएकोे थियो ।

कार्यविधि बनाउन ढिलो गरेका कारण आर्थिक वर्ष सकिन केही महिना बाँकी रहँदा मात्र कार्यक्रम सुरु भएको थियो । भवानिश्वर गाैतमले नयाँ पत्रिका दैनिकमा समाचार छापेका छन् ।

प्रतिक्रिया