स्वास्थ्य मन्त्रालयको फेरि लापरवाही, हुँदै नभएको वडामा पनि संक्रमित ?

admin

काठमाडौं, ९ जेठ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि अर्को लापरवाही गरेको छ ।

मन्त्रालयले शुक्रबार कोभिड-१९ बाट संक्रमितहरुको अध्यावधिक गर्ने क्रममा सर्लाहीको रामनगर बहुअर्वा गाउँपालिकासहित गोडैटा नगरपालिकाका ८,९,११,१३ र १४ वडामा सक्रमित फेला परेको उल्लेख गरेको छ ।

उक्त नगरपालिकामा १२ भन्दा बढी वडा नै छैनन् । उक्त नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले मन्त्रालयले कमजोरी गरेको जानकारी दिएका छन् । उनले आफ्नो नगरपालिकामा १२ वडामात्रै रहेको भन्दै नगरपालिकाले चाँडै यसबारे विज्ञप्ति निकाल्ने तयारी भएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले यसअघि पनि धनुषा र महोत्तरीको अध्यावधिक गर्दा गल्ती गरेको थियो । सर्लाहीमा शुक्रबार संक्रमण पुष्टि भएका १५ मध्ये १४ जना भारतबाट केही दिनअघि नेपाल आएका रहेको बुझिएको छ । मन्त्रालयको त्रुटि यो पहिलो पटक भने होइन ।

यसअघि गत जेठ १ गते पनि मन्त्रालयले कोरोना संख्या दोहोर्याएर त्रुटि गरेको थियो । जसले गर्दा संक्रमितको संख्या नै तलमाथि हुन पुगेको थियो । गत जेठ १ गते कोरोना संक्रमितको संख्या २५० भनेर जानकारी गराइएको थियो । तर त्यसको झण्डै तीन घण्टापछि मन्त्रालयले गल्ती सच्चाउदै ५ जना संक्रमित दोहोरिएको भन्दै २४५ नै रहेको अर्को विज्ञप्तिमार्फत स्पष्ट पारेको थियो ।

यसैगरी, काठमाडौंमा भेटिएका संक्रमितलाई पनि मन्त्रालयले बाहिर जिल्लाको भनेर भन्दा अन्यौल सिर्जना भएको थियो । मन्त्रलायले त्रुटि गर्न थालेपछि केही दिन अघि सूचना आयोगले संक्रमितहरुको स्पष्ट ठेगाना खुलाउन निर्देशन दिएको थियो । तर पनि मन्त्रालयको त्रुटि दोहोरिने क्रम रोकिएको छैन ।

प्रतिक्रिया